
इस्लामाबाद (पाकिस्तान), २३ अगस्त (हि.स.)। पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित डुकीको कोइला खानीमा शनिबार विषाक्त ग्यासको चपेटामा पर्दा दुई खानी मजदुरको मृत्यु भएको छ भने चार जना बेहोस भएका छन्। उद्धार टोलीले घटनाको पुष्टि गरेको छ।
‘दुनिया न्यूज’ को रिपोर्टअनुसार, मृतकका शव तथा बेहोस मजदुरहरूलाई अस्पताल पुर्याइएको छ। उद्धार टोलीका स्रोतका अनुसार, उक्त कोइला खानी लामो समयदेखि बन्द अवस्थामा थियो। बन्द खानीभित्र विषाक्त ग्यास जम्मा भएकाले खानीमा प्रवेश गर्ने क्रममा मजदुरहरू त्यसको चपेटामा परेका थिए।
यसअघि ३० जुलाईमा बलोचिस्तानको राजधानी क्वेटाको बाहिरी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विस्फोट हुँदा खानी भत्किएको थियो। उक्त दुर्घटनामा ३४ जना खानी मजदुरको मृत्यु भएको थियो। घटनाका बेला खानीमा ४२ जना कर्मचारी कार्यरत थिए। बाँकी मजदुरहरूको अवस्थाबारे भने अझै जानकारी प्राप्त हुन सकेको छैन।
हिन्दुस्थान समाचार / बिशाल