
कोनाक्री, २४ अगस्त (हि.स.)। गिनीको राजधानी कोनाक्रीमा भारी वर्षापछि फोहोर फाल्ने स्थान (ल्यान्डफिल) को ठूलो थुप्रो भत्किँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ भने १६ जनालाई सामान्य चोट लागेको बताइएको छ। दुर्घटना आइतबार बिहान करिब २ बजी ग्बेसिया क्षेत्रमा भएको हो।
ब्रिटिश दैनिक ‘द गार्डियन’ तथा चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले सरकारी अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार, रातभरि परेको भारी वर्षाका कारण ल्यान्डफिलमा जम्मा भएको फोहोरको ठूलो हिस्सा अचानक भत्किएर नजिकै रहेका टेन्ट, झुपडी तथा कमजोर घरहरूलाई पुरेको थियो। उद्धारकर्मीहरूले भग्नावशेषमा फसेका मानिसहरूको खोजीका लागि एक्स्काभेटर तथा अन्य भारी उपकरण प्रयोग गरिरहेका छन्।
दुर्घटनामा आफ्ना पाँच सन्तान गुमाएकी सिरे डियालोले पत्रकारहरूसँग भनिन्, “मैले मेरा सबै सन्तान गुमाएँ। अब म केवल भगवानमाथि भरोसा गर्न सक्छु।”
सरकारले ल्यान्डफिल बन्द गर्ने योजना घोषणा गरेको केही दिनमै यो दुर्घटना भएको हो। क्षेत्रीय प्रशासनमन्त्री जेनाबु टौरे कमाराले बिहीबार उक्त स्थान असुरक्षित भइसकेको बताउँदै त्यहाँ आउने फोहोर कोनाक्रीबाहिर अर्को स्थानमा लैजाने घोषणा गरेकी थिइन्।
पश्चिम अफ्रिकाका घना बस्ती भएका शहरहरूमा वर्षायाममा पैह्रो र आकस्मिक बाढीको जोखिम बढ्ने गर्छ। कमजोर पूर्वाधार तथा अव्यवस्थित बस्तीका कारण यस्ता प्राकृतिक आपदामा जनधनको क्षति अझ बढ्ने गरेको छ।
गिनीका प्रधानमन्त्री अमादौ ओरी बाहले आइतबार घटनास्थलको भ्रमण गरी क्षतिको निरीक्षण गर्नुका साथै राहत तथा उद्धार कार्यको अनुगमन गरे। उनले सर्वसाधारणलाई शान्त रहन, एकजुटता कायम राख्न तथा उद्धारकर्मी र सम्बन्धित अधिकारीहरूको निर्देशन पालना गर्न अपील गरेका छन्।
उद्धारकर्मीहरूले भग्नावशेष हटाउन उत्खनन गर्ने मेसिन तथा अन्य उपकरण प्रयोग गरिरहेका छन्। प्रत्यक्षदर्शीहरूका अनुसार, भग्नावशेषको मात्रा यति ठूलो थियो कि त्यसमा एउटा अपार्टमेन्ट भवनसहित कमजोर घरहरू पनि पुरिएका हुन सक्ने आशंका गरिएको छ।
अप्रेलमा विश्व ब्याङ्कले प्रकाशित गरेको प्रतिवेदनअनुसार, करिब १ करोड ५१ लाख जनसंख्या रहेको गिनीमा लगभग ३७ लाख मानिस दैनिक ४.२० अमेरिकी डलर (करिब ४०१.७० रुपियाँ) भन्दा कम आम्दानीमा जीवनयापन गरिरहेका छन्।
गिनीमा विश्वकै सबैभन्दा ठूलो बक्साइट भण्डार तथा सिमान्डु क्षेत्रमा अप्रयुक्त अवस्थामै रहेको समृद्ध फलाम अयस्कको ठूलो भण्डार छ। त्यहाँ गत नोभेम्बरमा ठूलो खानी परियोजना शुरु गरिएको थियो। यद्यपि, पश्चिम अफ्रिकी यस देशमा पूर्वाधार कमजोर हुनुका साथै व्यापक गरिबी रहेको छ।
उल्लेख्य, क्षेत्रीय प्रशासनमन्त्री जेनाबु टौरे कमाराले बिहीबार ल्यान्डफिल असुरक्षित भएकाले सरकारले बन्द गर्न लागेको र फोहोर कोनाक्रीबाहिर अर्को स्थानमा लैजाने घोषणा गरेकी थिइन्।
हिन्दुस्थान समाचार / बिशाल