होर्मुज जलडमरूमध्यमा नियम उल्लङ्घन गर्ने जहाजहरू जफत गरिने : पीजीएसए
हाेर्मुज जलडमरुमध्य (फाइल फाेटाे)


तेहरान, २४ अगस्त (हि.स.)। इरानले रणनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण होर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने जहाजहरूबारे कडा नीति अपनाएको छ। इरानको पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पीजीएसए) ले आफ्नो निर्धारित नियम उल्लङ्घन गर्ने जहाजहरूलाई भविष्यमा जलडमरूमध्यबाट आवतजावत गर्न प्रतिबन्ध लगाउन सकिने चेताउनी दिएको छ। यस्ता कारबाहीमा जरिवाना, जहाज रोक्का गर्ने तथा जफत गर्ने कार्यसमेत समावेश हुन सक्छ।

इरानको अन्तरराष्ट्रिय समाचार सञ्जाल प्रेस टीभी तथा टर्कीको सरकारी समाचार एजेन्सी अनाडोलुका अनुसार, पीजीएसएले आइतबार आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै पर्सियन गल्फ क्षेत्रमा मालसामान ढुवानी गर्ने शिपिङ कम्पनीहरू र कार्गो मालिकहरूलाई कुनै पनि जहाज भाडामा लिनुअघि नियम पालना नगर्ने जहाजहरू (एनसीभी) को अद्यावधिक सूची जाँच गर्न आग्रह गरेको छ।

इरानी निकायले सूचीमा समावेश जहाजहरूसँग सहकार्य गर्ने अन्य जहाजहरूलाई पनि तत्काल प्रभावबाट एनसीभी सूचीमा समावेश गर्न सकिने जनाएको छ। यसमा जहाज-देखि-जहाज (एसटीएस) स्थानान्तरण, ट्रान्सशिपमेन्ट तथा यस्तै अन्य गतिविधिहरू समावेश छन्।

पीजीएसएका अनुसार, सूचीबाट आफ्नो नाम हटाउन चाहने जहाज मालिकहरूले उचित कारणसहित औपचारिक निवेदन दिनुपर्नेछ। यसका लागि अथोरिटीले info@pgsa.ir मा आवेदन पठाउने प्रक्रिया पनि सार्वजनिक गरेको छ।

इरानको यो घोषणा त्यतिबेला आएको हो जब होर्मुज जलडमरूमध्यमा समुद्री यातायात पहिले नै निकै प्रभावित बनेको छ। रोयटर्सका अनुसार, २३ अगस्तमा समाप्त भएको सातामा केवल ८९ मालवाहक जहाज जलडमरूमध्यबाट बाहिरिएका र १०३ जहाज भित्रिएका थिए। यो द्वन्द्वअघि रहेको स्तरको तुलनामा करिब ९० प्रतिशत कम गतिविधि हो।

अन्तरराष्ट्रिय समुद्री संगठन (आईएमओ) का अनुसार, २१ अगस्तसम्म होर्मुज तथा आसपासका क्षेत्रमा ६८ वटा पुष्टि भएका समुद्री घटना दर्ता भएका छन्, जसमा १९ जना नाविकको मृत्यु भएको छ।

होर्मुज जलडमरूमध्य विश्वका सबैभन्दा महत्वपूर्ण ऊर्जा मार्गहरूमध्ये एक हो। यस मार्गमार्फत पर्सियन गल्फ क्षेत्रबाट ठूलो मात्रामा तेल र ग्यास अन्तरराष्ट्रिय बजारसम्म पुग्ने गर्दछ। त्यसैले यहाँ जहाज आवागमनमा कुनै पनि प्रकारको प्रतिबन्ध लाग्दा विश्वव्यापी ऊर्जा बजार तथा ढुवानी लागतमा असर पर्न सक्छ।

इरानले यसअघि पनि जलडमरूमध्यसम्बन्धी आफ्ना सर्त र सुरक्षा चिन्ताहरूलाई बेवास्ता गर्न नसकिने बताएको थियो। अगस्त महिनामा इरानले होर्मुजलाई सामान्य रूपमा सञ्चालन गर्न अमेरिकाले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्ने जनाएको थियो।

होर्मुजलाई लिएर इरान र अमेरिकाबीचको तनाउ त्यतिबेला बढिरहेको छ, जब दुवै देशबीचका कूटनीतिक प्रयासहरू पनि अवरुद्ध अवस्थामा छन्। जून महिनामा पाकिस्तान र कतारको मध्यस्थतामा दुवै पक्षबीच एक अन्तरिम सम्झौता भएको थियो, तर त्यसको कार्यान्वयन तथा जलडमरूमध्यमा जहाज आवागमनको विषयमा पछि मतभेद देखा परे।

१७ अगस्तमा उक्त सम्झौताको समयसीमा समाप्त भए पनि कुनै स्थायी सहमति हुन सकेको छैन। यता जलडमरूमध्यबाट जहाजहरूको आवागमन अत्यन्त कम रहेकाले ठूलो सङ्ख्यामा व्यावसायिक जहाजहरू खाडी क्षेत्रमा अलपत्र परेका छन्।

यस्तो अवस्थामा पीजीएसएको नयाँ चेताउनीले शिपिङ कम्पनीहरूमाथि नियम पालना गर्ने दबाउ अझ बढाउन सक्नेछ र होर्मुजमार्फत हुने अन्तरराष्ट्रिय व्यापारमा अनिश्चितता थप गहिरिन सक्नेछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande