
काठमाडौँ, २४ अगस्त (हि.स.)। भारतीय राजनीतिज्ञ तथा बौद्धिक व्यक्तित्व डा. शशि थरूरद्वारा लिखित पुस्तक Why I Am a Hindu (मैं क्यों हिंदू हूँ) को नेपाली अनुवाद काठमाडौंमा लोकार्पण हुने भएको छ।
नेपाल लिटरेचर फेस्टिभलको आयोजनामा आगामी २६ अगस्तमा काठमाडौंस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा पुस्तकको लोकार्पण कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा डा. थरूरले दक्षिण एसियामा बहुलवाद, आस्था तथा धर्मनिरपेक्ष लोकतन्त्रका विषयमा संवाद गर्नेछन्।
पुस्तकमा डा. थरूरले आफ्नो विश्वास तथा विद्वत्तापूर्ण विश्लेषणमार्फत हिन्दू धर्मका विभिन्न अवधारणाको व्याख्या गरेका छन्। उनले आदि शंकराचार्य, पतञ्जलि, स्वामी विवेकानन्द तथा महात्मा गान्धीजस्ता व्यक्तित्वको योगदानसँगै वेद, अद्वैत वेदान्त र भक्तियोगजस्ता दार्शनिक अवधारणाबारे चर्चा गरेका छन्।
पुस्तकमा परम्परागत धार्मिक अभ्याससँगै हिन्दुत्वको उदय र त्यसको आधुनिक राजनीतिक प्रभावको समेत विश्लेषण गरिएको छ। थरूरले भारतीय धर्मनिरपेक्षताको सन्दर्भमा हिन्दू बहुसंख्यक समुदायको भूमिकाबारे आफ्नो तर्क प्रस्तुत गरेका छन्। साथै उनले धार्मिक कट्टरपन्थका कारण भारतको सांस्कृतिक सम्पदामा खतरा उत्पन्न हुन सक्ने चेताउनी दिएका छन्।
पुस्तकको नेपाली अनुवाद पत्रकार स्वेच्छा राउतले गरेकी हुन्। करिब एक दशकदेखि पत्रकारितामा सक्रिय राउतले रेडियोबाट आफ्नो पत्रकारिता यात्रा शुरु गरेकी थिइन् भने बीबीसी नेपाली सेवामा अनलाइन पत्रकारिताको अनुभव हासिल गरेकी छन्।
‘मैं क्यों हिंदू हूं’ को प्रकाशन नेपालका प्रमुख प्रकाशन गृह फाइनप्रिन्टले गरेको हो। फाइनप्रिन्टले साहित्य, इतिहास, राजनीति तथा सार्वजनिक विमर्शसँग सम्बन्धित महत्वपूर्ण पुस्तकहरू प्रकाशन गर्दै आएको छ।
आयोजकका अनुसार, डा. थरूरका आस्था, धर्मनिरपेक्षता तथा लोकतान्त्रिक मूल्यमान्यतासँग सम्बन्धित विचारले यी विषयमा सूचित, सन्तुलित र रचनात्मक संवादलाई अघि बढाउने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।
हिन्दुस्थान समाचार / बिशाल