भारतको सहयोगमा नेपालमा राहुघाट जलविद्युत परियोजना तयार, राष्ट्रिय ग्रिडमा थपिने ४० मेगावाट बिजुली
राहुघाट जलविद्युत उत्पादन केंद्र नेपाल


काठमाडौँ, २४ अगस्ट (हि.स.)। नेपालकाे म्याग्दी जिल्लामा निर्माणाधीन बहुप्रतीक्षित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत परियोजनाको निर्माण कार्य सम्पन्न भएको छ। भारतको एक्जिम ब्याङ्कको सहुलियतपूर्ण ऋण, भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (बीएचईएल) को प्राविधिक लगानी तथा भारतीय कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) को निर्माण सहयोगमा यो परियोजना सम्पन्न गरिएको हो।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरद्वारा प्रवर्द्धित यस परियोजनाको भौतिक निर्माण तथा उपकरण जडानको काम पूरा भइसकेको छ। अहिले परियोजना विद्युत उत्पादनको अन्तिम परीक्षण चरणमा पुगेको छ।

परियोजनाको सिभिल निर्माणको ठेक्का भारतीय कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) ले नोभेम्बर २०१७ मा करिब ६ अरब नेपाली रुपियाँमा प्राप्त गरेको थियो। ४५ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड १९ महामारी, बाढी, पहिरो तथा नदीजन्य निर्माण सामग्रीको अभावका कारण परियोजना ढिलाइ भएको थियो। निर्धारित समयमा काम पूरा हुन नसकेपछि ठेक्काको अवधि पटक-पटक थप गरिएको थियो।

आयोजनाको इलेक्ट्रो-मेकानिकल कार्यका लागि भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (बीएचईएल) सँग करिब १०.२९ मिलियन अमेरिकी डलरको सम्झौता गरिएको थियो। परियोजनामा भारतको एक्जिम ब्याङकबाट ६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण ऋण उपलब्ध गराइएको छ भने नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी पनि रहेको छ। यसलाई इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) मोडेलमा विकास गरिएको हो।

राहुघाट परियोजनाबाट वार्षिक करिब २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। परियोजनाका प्रबन्ध निर्देशक गणेश केसीका अनुसार बाँध, डिसेन्डर, सुरुङ तथा स्विचयार्डको परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेको छ। २० मेगावाट क्षमताको एउटा युनिटको परीक्षण पूरा भइसकेको छ भने अर्को २० मेगावाट क्षमताको युनिटको परीक्षण सुरु गरिएको छ।

केसीका अनुसार, दुवै युनिटको परीक्षण सम्पन्न गर्न करिब एक सातादेखि १० दिनसम्म लाग्न सक्छ। त्यसपछि व्यावसायिक रूपमा विद्युत उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ।

राहुघाटबाट उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी डबल-सर्किट दाना-कुश्मा प्रसारण लाइनमा ‘लिलो’ प्रविधिमार्फत जोडिनेछ। यसका लागि आवश्यक चारवटा टावर तथा प्रसारण लाइन निर्माण कार्य पनि सम्पन्न भइसकेको छ। परियोजनाको पावरहाउस परिसरमा निर्माण गरिएको स्विचयार्ड दुई महिनाअघि नै सञ्चालनमा आइसकेको छ।

म्याग्दी जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले राहुघाट परियोजनालाई जिल्लाको जलविद्युत विकासको ‘प्रवेशद्वार’ (गेटवे) का रूपमा वर्णन गरेका छन्। उनका अनुसार, राहुघाट परियोजना शुरु भएपछि म्याग्दीमा थप १० वटा जलविद्युत परियोजना पनि सम्पन्न भइसकेका छन्।

करिब दुई दशकदेखि प्रतीक्षामा रहेको यो परियोजना सम्पन्न भएपछि म्याग्दीवासीमा उत्साह छाएको छ। आयोजनाबाट छिट्टै विद्युत उत्पादन सुरु भएपछि राष्ट्रिय विद्युत प्रणालीमा थप ४० मेगावाट विद्युत जोडिने अपेक्षा गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande