
लखनऊ, २४ अगस्त (हि.स.)। भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमार उत्तर प्रदेशको दुई दिने भ्रमणका क्रममा सोमबार बिहान लखनऊ पुगेका छन्। उनले सोमबार र मंगलबार राजनीतिक दलका प्रतिनिधिहरूसँगै जेन-जीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमार उत्तर प्रदेशका विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयहरूमा निर्वाचन प्रक्रियाबारे जानकारी दिने उद्देश्यले आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।
उत्तर प्रदेशको राजधानी लखनऊ पुगेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “लखनउ मेरो तपोभूमि हो, मेरो शिक्षा पनि यहीँबाट भएको हो। हामी उत्तर प्रदेशका मतदाताहरूलाई सन्देश दिन यहाँ आएका हौं। विशेषगरी लोकतन्त्रका आधारस्तम्भ मानिने बूथस्तरीय अधिकृतहरू (बीएलओ) लाई केही महत्वपूर्ण विषय बुझाउने तथा प्रदेशका विश्वविद्यालय र विद्यालयहरूमा निर्वाचन प्रक्रियाको पारदर्शिता र सम्पूर्ण प्रणालीबारे जानकारी दिने कार्यक्रमहरू सञ्चालन गरिनेछन्।”
उल्लेखनीय छ, भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले शैक्षिक क्षेत्रमा पनि उल्लेखनीय सफलता हासिल गरेका थिए। उनले सन् १९७९ मा हाईस्कूल परीक्षामा उत्तर प्रदेश बोर्डअन्तर्गत करिब १० लाख विद्यार्थीमध्ये प्रथम स्थान हासिल गरेका थिए। त्यसैगरी सन् १९८१ मा इन्टरमिडियट परीक्षामा पनि करिब ६ लाख विद्यार्थीमध्ये पुनः उत्तर प्रदेश बोर्डमा प्रथम स्थान प्राप्त गरेका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी