नेपालमा पौराणिक महत्वको बरुण नदीमा जलविद्युत् परियोजनाको विरोध
वरूण नदी और पीएम दफ्तर को भेजा गया पत्र


काठमाडौं, २६ अगस्त (हि.स.)। नेपालमा पौराणिक तथा धार्मिक महत्व बोकेको बरुण नदीमा प्रस्तावित जलविद्युत् परियोजनाको विरोध शुरु भएको छ। जिल्ला समन्वय समिति खाँदबारी र संखुवासभाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेख्दै धार्मिक र पौराणिक महत्वको बरुण नदीमा जलविद्युत् परियोजना निर्माण नगर्न आग्रह गरेका छन्। उक्त परियोजना संखुवासभा जिल्लाको भोटखोला गाउँपालिकाको स्याक्सिला क्षेत्रमा पर्ने मकालु-बरुण राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रभित्र बरुण नदीमा प्रस्ताव गरिएको हो।

समितिले १३२ मेगावाट क्षमताको लोअर बरुण खोला जलविद्युत् परियोजना निर्माणको अनुमति नदिन सरकारसँग अनुरोध गरेको छ। जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले बरुण नदी धार्मिक तथा सांस्कृतिक आस्थाको महत्वपूर्ण केन्द्र भएकाले यसको संरक्षण आवश्यक रहेको बताएका छन्।

समितिका अनुसार, भोटखोला गाउँपालिकाको १३औँ कार्यपालिका बैठकले पनि वडा नं. ४ अन्तर्गत पर्ने बरुण नदीलाई धार्मिक सम्पदाका रूपमा संरक्षण गर्ने तथा मकालु-बरुण राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रभित्र जलविद्युत् परियोजना निर्माण रोक्ने निर्णय गरेको थियो। जिल्ला समन्वय समितिले गाउँपालिकाको उक्त निर्णयलाई समर्थन गर्दै सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छ।

समितिले दिएको जानकारीअनुसार, संखुवासभामा अरुण नदीबाहेक अन्य विभिन्न नदीहरूबाट करिब ६ हजार मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको छ। हाल राष्ट्रिय प्रसारण लाइनमा करिब ७५ मेगावाट विद्युत् जोडिएको छ भने अरुण नदीबाट करिब ३ हजार ५७६ मेगावाट विद्युत् उत्पादनको प्रक्रिया अगाडि बढिरहेको छ।

बरुण नदीमा परियोजना निर्माण भए धार्मिक आस्था, पर्यावरण तथा समग्र क्षेत्रमै नकारात्मक प्रभाव पर्न सक्ने आशंका व्यक्त गर्दै समितिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनलगायत कानुनी प्रावधान र संरक्षित क्षेत्रसम्बन्धी नीतिअनुसार परियोजनाको अनुमति नदिन आग्रह गरेको छ। साथै संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माणसम्बन्धी कार्यनीतिका प्रावधानहरू कडाइका साथ लागू गर्न सम्बन्धित निकायसँग अनुरोध गरिएको छ।

बरुण नदीलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूले धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मान्छन्। स्थानीयवासीका अनुसार, यस नदीसँग अनेकौँ पौराणिक मान्यताहरू जोडिएका छन्। बरुण नदीको किनारमा हरेक वर्ष माघ महिनाको पहिलो दिन लाग्ने मकर मेला भोट क्षेत्र तथा तल्लो भेगका बासिन्दाहरूबीच भेटघाट र सांस्कृतिक आदानप्रदानको महत्वपूर्ण अवसरका रूपमा रहँदै आएको छ।

स्थानीयवासीहरूले लामो समयदेखि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बरुण नदीमा जलविद्युत् परियोजना निर्माण नगर्न माग गर्दै आएका छन्। उनीहरूको भनाइमा यस्ता परियोजनाले नदीको प्राकृतिक स्वरूप र धार्मिक अस्तित्वमा असर पुर्‍याउन सक्छ। यसअघि पनि स्थानीयहरूले नदीमा जलविद्युत् आयोजना निर्माण रोक्न माग गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande