रसुवामा ३०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत परियोजनामा ठूलो क्षति, विद्युत् आपूर्ति प्रभावित
नेपाल में बाढ़ से हाइड्रोपावर को नुकसान


काठमाडौँ, २६ अगस्त (हि.स.)। तिब्बततर्फबाट रसुवा पुगेको भीषण बाढीका कारण त्रिशूली नदी तटीय क्षेत्रमा रहेका ३०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत परियोजनामा ठूलो क्षति पुगेको प्रारम्भिक आकलन ऊर्जा मन्त्रालयले गरेको छ। प्रभावित परियोजनामा निर्माणाधीन तथा सञ्चालनमा रहेका दुवै प्रकारका जलविद्युत परियोजना छन्।

प्रारम्भिक विवरणअनुसार, विभिन्न परियोजनाका पावर हाउस तथा सबस्टेसनमा ठूलो क्षति पुगेको छ। ऊर्जा मन्त्रालयका अनुसार, रसुवागढी (१११ मेगावाट), चिलिमे (२२ मेगावाट), त्रिशूली-३ ए (६० मेगावाट), त्रिशूली-३ बी (३७ मेगावाट), मैलुङ (१४ मेगावाट) र त्रिशूली-बेनीघाट (३५ मेगावाट) जलविद्युत परियोजनामा बाढीले क्षति पुर्‍याएको छ।

त्यस्तै, ५७ मेगावाट क्षमताका साञ्जेन (अपर) र साञ्जेन जलविद्युत परियोजनामा पनि क्षति पुगेको मन्त्रालयले जनाएको छ।

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका एक अधिकारीका अनुसार, क्षतिको विस्तृत आधिकारिक विवरण संकलन भइरहेको छ। प्रभावित परियोजनामा कार्यरत कर्मचारीको अवस्थाबारे पनि जानकारी संकलन गर्ने काम भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरणका विभिन्न विद्युत् गृह तथा प्रसारण संरचनामा समेत बाढीले क्षति पुर्‍याएको छ। प्राधिकरणका अनुसार, बाढीका कारण रसुवा तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ।

बाढीबाट रसुवागढी, चिलिमे र त्रिशूली-३ ‘ए’ जलविद्युत् केन्द्र तथा त्रिशूली-३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको प्राधिकरणले जनाएको छ। त्रिशूली र देवीघाट जलविद्युत् केन्द्र तथा विभिन्न विद्युत् वितरण संरचनामा समेत बाढीको असर परेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande