नेपालमा रसुवाको बाढीपछि स्वास्थ्य आपत्कालीन प्रणाली सक्रिय, काठमाडौँका सबै प्रमुख अस्पताललाई सतर्क रहन निर्देशन
काठमांडू के सरकारी अस्पताल अलर्ट पर


काठमाडौँ, २६ अगस्त (हि.स.)। रसुवामा आएको भीषण बाढीबाट हुन सक्ने मानवीय क्षतिलाई ध्यानमा राख्दै नेपाल सरकारले स्वास्थ्य आपत्कालीन प्रणाली सक्रिय गरेको छ। प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई सतर्क अवस्थामा राख्दै घाइतेको उपचार तथा आवश्यक परे तत्काल उच्चस्तरीय अस्पतालमा रेफर गर्ने व्यवस्था गरिएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार, बाढीको सूचना प्राप्त भएदेखि नै मन्त्रालयले बुधबार बिहानैदेखि आवश्यक तयारी थालेको हो। प्रभावित क्षेत्रका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। मन्त्रालयअन्तर्गतको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर समेत सक्रिय गरिएको छ।

डा. अधिकारीका अनुसार, रसुवा र आसपासका क्षेत्रमा रहेका स्वास्थ्य संस्थामार्फत प्राथमिक उपचार तथा ट्रायजको व्यवस्था गरिनेछ। स्थानीय स्तरमा उपचार सम्भव नहुने गम्भीर घाइतेलाई हब अस्पतालमा रेफर गरी थप उपचार गरिनेछ। यसका लागि यसअघि तयार पारिएको आपदा कार्ययोजना कार्यान्वयनमा ल्याइएको छ।

मन्त्रालयले वीर अस्पताल, ट्रमा सेन्टर तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) लगायत प्रमुख हब अस्पताललाई सम्भावित गम्भीर घाइतेको उपचारका लागि तयारी अवस्थामा राखेको जनाएको छ। प्रभावित क्षेत्रबाट रेफर भएर आउने बिरामीको उपचार तथा व्यवस्थापनका लागि काठमाडौँका ठूला अस्पतालमा आवश्यक व्यवस्था मिलाइएको छ।

प्रवक्ता अधिकारीका अनुसार, त्रिशूली अस्पताल, रसुवा अस्पताल, धुन्चे अस्पताल तथा आसपासका स्थानीय स्वास्थ्य संस्थाबीच समन्वय गरिएको छ। बिरामीको अवस्थाअनुसार स्थानीय स्तरमै उपचार गर्ने वा तत्काल उच्चस्तरीय अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइएको छ।

उनका अनुसार, आपदाको अवस्थामा प्रत्येक अस्पतालको आफ्नै कार्ययोजना हुने भएकाले स्थानीय अस्पतालमा उपचार सम्भव नभएका बिरामीलाई हब अस्पतालमा पठाउने र गम्भीर बिरामीको त्यहाँ उपचार गर्ने प्रणाली अहिले सक्रिय अवस्थामा रहेको छ।

बाढीमा गम्भीर घाइते भएर काठमाडौँ पुगेका व्यक्तिको संख्या भने अहिलेसम्म उपलब्ध हुन सकेको छैन। मन्त्रालयले घाइते तथा प्रभावित नागरिकको विवरण संकलन गरी अद्यावधिक गरिरहेको जनाएको छ। सम्पूर्ण विवरण प्राप्त भएपछि सार्वजनिक गरिने अधिकारीहरूले बताएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande