
इस्लामाबाद, २६ अगस्त (हि.स.)। पाकिस्तानको राजधानी इस्लामाबादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) को प्रसूति तथा स्त्रीरोग वार्डमा बुधबार बिहान करिब ६ः४५ बजी आगलागी हुँदा १५ नवजात शिशुको मृत्यु भएको छ। पिम्सका अधिकारीका अनुसार, घटनाका बेला वार्डमा १६ नवजात शिशु थिए, जसमध्ये एक जनाको मात्र उद्धार गर्न सकिएको छ।
अस्पतालका अनुसार, एयर कन्डिसनरको कम्प्रेसर विस्फोट भएपछि आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
द न्युज को रिपोर्टअनुसार, वार्डको तेस्रो तलामा लागेको आगोमा १४ शिशु जलेर मृत्यु भएका थिए। सूचना पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेको थियो। उद्धार तथा नियन्त्रण कार्यमा ६ वटा दमकल र चारवटा एम्बुलेन्स परिचालन गरियो।
घटनाको छानबिनका लागि अतिरिक्त उपायुक्तको नेतृत्वमा समिति गठन गरिएको छ। समितिले आगलागीको कारण तथा घटनामा भएको लापरबाहीबारे अनुसन्धान गर्नेछ।
अधिकारीहरूका अनुसार, घटनापछि सम्बन्धित वार्डलाई सिल गरिएको छ। मृतक शिशुका अभिभावकले आगलागी हुँदा इन्क्युबेसन सेन्टरमा अस्पतालका कर्मचारी उपस्थित नभएको आरोप लगाएका छन्।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाको छानबिन गरी दोषी पाइएमा कडा कारबाही गर्न निर्देशन दिएका छन्। उनले शोकसन्तप्त अभिभावकप्रति समवेदना व्यक्त गर्दै आफू उनीहरूको दुःखमा सहभागी रहेको बताएका छन्।
जिल्ला प्रशासनका अनुसार, छानबिन समितिमा इस्लामाबाद इलेक्ट्रिक सप्लाई कम्पनी तथा पिम्सका अधिकारीलाई पनि समावेश गरिएको छ। समितिले २४ घण्टाभित्र प्रतिवेदन बुझाउनेछ।
उद्धार टोलीका स्रोतहरूले अस्पतालमा आगलागीबाट बच्ने सुरक्षा व्यवस्था अत्यन्तै अपर्याप्त रहेको बताएका छन्। स्रोतका अनुसार, आगलागी भएको स्थानमा पानीको व्यवस्था थिएन भने फायर होजका कप्लिङसमेत गायब थिए। आपत्कालीन अवस्थामा बाहिर निस्कने मार्गसमेत बन्द रहेको बताइएको छ। घटनाका बेला इन्क्युबेसन सेन्टरमा चिकित्सक, वार्ड ब्वाय वा अन्य कुनै कर्मचारी उपस्थित नरहेको दाबी गरिएको छ।
हिन्दुस्थान समाचार / बिशाल