नेपालमा विनाशकारी बाढी : १२३ शव भेटियो, ७०० भन्दा बढी सम्पर्कविहीन
नेपालको रसुवामा आएको बाढ़ी


काठमाडौँ, २७ अगस्त (हि.स.)। नेपालमा रसुवा तथा छेउछाउका क्षेत्रमा आएको विनाशकारी बाढीबाट हालसम्म १२३ जनाको शव भेटिएको छ भने ७०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन्। सरकारी विवरणअनुसार, बाढीबाट चीनसँगको सीमावर्ती क्षेत्रदेखि भारतसँग सीमा जोडिएका जिल्लासम्म ठूलो क्षति पुगेको छ।

सरकारले सार्वजनिक गरेको विवरणअनुसार, सबैभन्दा प्रभावित रसुवा जिल्लाबाट हालसम्म एक जनाको शव भेटिएको छ। भारतसँग सीमा जोडिएको चितवनस्थित नारायणी नदीबाट भने ६४ शव बरामद भएका छन्।

यसैगरी, गोरखाबाट १९, धादिङबाट १८, नुवाकोटबाट ११, तनहुँबाट ९ र नवलपरासीबाट एक शव भेटिएको छ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार, २४५ स्थानीयवासी सम्पर्कविहीन रहेका छन्। यसबाहेक नेपाल पुलिका २६, नेपाली सेनाका २२ तथा सशस्त्र पुलिस बलका १३ जना सुरक्षाकर्मी पनि बेपत्ता रहेको बताइएको छ।

बाढी प्रभावित क्षेत्रमा ३८४ पर्यटक पनि सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।‌ बोर्डका अनुसार, सम्पर्कविहीन पर्यटकमध्ये १३९ जना भारतीय नागरिक छन् भने भारतीय मूलका ३७ जना एनआरआई पर्यटकसमेत सम्पर्कविहीन रहेको जानकारी दिइएको छ।

गृह मन्त्रालयका अनुसार, घाइतेमध्ये हालसम्म ७५ जनालाई काठमाडौँ तथा छेउछाउका जिल्लाका विभिन्न अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।

राहत तथा उद्धार अभियानका क्रममा हालसम्म २१६ जनाको जीवित उद्धार गरिएको छ। तीमध्ये १२३ जनालाई हेलिकोप्टरमार्फत तथा ९३ जनालाई स्थलमार्गबाट उद्धार गरिएको सरकारी विवरणमा उल्लेख छ।

बाढीका कारण यातायात तथा सञ्चार पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ। सरकारी तथ्याङ्कअनुसार, ३५ वटा पुल र ४५ वटा झोलुङ्गे पुल बगेका छन् भने करिब ४० किलोमिटर राजमार्ग बाढीको चपेटामा परेको छ। यसका कारण विभिन्न क्षेत्रको आवागमन तथा सम्पर्क अवरुद्ध भएको छ।

बेपत्ता व्यक्तिहरूको खोजी तथा प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य सुरक्षा निकाय, प्रशासन तथा विभिन्न उद्धार टोलीको समन्वयमा जारी रहेको छ। सरकारी अधिकारीहरूका अनुसार, बाढी प्रभावित क्षेत्रमा अवस्था अझै गम्भीर रहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande