खरसाङमा नेवार जातिको क्वाँटी पूर्णिमा कार्यक्रमसहित सम्मान कार्यक्रम सम्पन्न
Kwanti purnima


खरसाङ, 28 अगस्त (हि.स.)। अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समिति श्री भीमेश्वर मन्दिर खरसाङको आयोजनामा खरसाङमा नेवार जातिको क्वाँटी पूर्णिमा समारोह सम्पन्न भएको छ। खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता नेवार संगठन खरसाङ आञ्चलिक समितिका अध्यक्ष प्रकाश प्रधानले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेवार संगठन केन्द्रिय समितिका अध्यक्ष सूर्यनारायण प्रधान र विशिष्ट अतिथिको रुपमा नेवार संगठन राज्य समितिका अध्यक्ष एमबी श्रेष्ठ उपस्थित रहेका थिए।

खरसाङको श्री भीमेश्वर मन्दिरमा पूजा अर्चना गरेर थालिएको क्वाँटी पूर्णिमा कार्यक्रममा विभिन्न ओहोदामा पुगेका साथै पीएचडी पूरा गरेका नेवार जातिका विशिष्ट व्यक्तित्वहरू र नेवार जातिका गुबाजुहरुलाई सम्मान जनाइएको थियो। यस क्वाँटी पूर्णिमा कार्यक्रममा खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 1 देखि 20 नम्बर वर्षसम्मका साथै तीनधारे, घैयाबारी, महानदी, रोहिणी, सिंगेल, सन्त मेरिज, अम्बटे लगायत विभिन्न स्थानहरुबाट नेवार जातिको प्रतिनिधिहरु उपस्थित रहेका थिए।

नेवार संगठन खरसाङ आञ्चलिक समितिका सचिव सुवास प्रधानले गत वर्षहरु झैं यसपाली पनि अखिल भारतीय नेवार संगठनको आयोजनामा खरसाङमा नेवार जातिको क्वाँटी पूर्णिमा कार्यक्रम आयोजना गरिएको र यसपाली पानी झरीको कारणले ऱ्यालीको आयोजना गर्न नसके पनि पार्क लोकेशनस्थित सार्वजनिक भवनमा नेवार जातिको क्वाँटी पूर्णिमा कार्यक्रम गरिएको बताए।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande