सोरेङ च्याखुङ समष्टिमा एसकेएम पार्टीको 'पञ्चायत परामर्श अभियान' सम्पन्न
पञ्चायत परामर्श अभियान


सोरेङ, 28 अगस्त (हि.स.)। एसकेएम पञ्चायत प्रकोष्ठले आयोजना गर्दै आएको 'पञ्चायत परामर्श अभियान' आजदेखि सोरेङ जिल्लामा शुरु भएको छ। सोरेङ-च्याखुङ समष्टिमा आयोजित कार्यक्रममा एसकेएम पञ्चायत प्रकोष्ठकी उपाध्यक्ष प्रभारी एवम् विधायक कला राई प्रमुख आतिथि तथा क्षेत्र विधायक आदित्य गोले विशिष्ट अतिथि थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै विधायक कला राईले सरकारी सुविधा तथा सहुलियत वितरण प्रक्रियालाई पारदर्शी बनाउन ग्रामसभा आयोजना गरेर लाभग्राही छनोट गरिए असल हुने बताइन्। उनले ग्रामसभामार्फत स्थानीयवासी, पञ्चायत प्रतिनिधि तथा कार्यकर्ताबीच छलफल गरेर वास्तविक गरिब तथा विपन्न परिवारको पहिचान गरी उनीहरूलाई सरकारी सुविधा उपलब्ध गराउनुपर्ने बताइन्।

यस प्रक्रियाले सुविधा वितरणमा पारदर्शिता कायम हुनुका साथै लक्षित वर्गसम्म सहयोग पुग्ने उनको भनाइ थियो। विधायक राईले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको प्राथमिकता गरिब तथा विपन्न वर्गको उत्थान रहेको उल्लेख गर्दै लाभग्राही छनोट गर्दा राजनीतिक आस्था हेर्न नहुने स्पष्ट पारिन्। उनले सरकारी योजना तथा सहुलियतको वास्तविक लाभ लक्षित वर्गसम्म पुर्‍याउन स्थानीय तहबाटै पारदर्शी र समावेशी प्रक्रिया अपनाउनु पर्नेमा जोड दिइन्। यसअघि, कार्यक्रमलाई सम्बोधन गर्दै विधायक आदित्य गोलेले सोरेङ-च्याखुङ समष्टिमा भएका विकासात्मक कार्यहरूबारे चर्चा गरे। उनलेे सोरेङ नयाँ जिल्ला घोषित हुनुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे। जिल्लामा नयाँ अस्पताल निर्माण भइरहेको र आउने दिनमा यसको चाँडै उद्घाटन गरिने जनाउँदै स्थानीय नागरिकका लागि यो उपयोगीसिद्ध हुने दाबी गरे।

कार्यक्रमलाई पञ्चायत प्रकोष्ठ, सोरेङ जिल्लाका अध्यक्ष खगेन्द्र राई अनि अध्यक्ष डीबी गुरुङले पनि सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande