इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
सीएपीको प्रेस सम्मेलन


गान्तोक, 28 अगस्त (हि.स.)। दिल्लीमा काम गर्न गएकी सिक्किमकी इन्द्रकला राई बेपत्ता बनेपछि उनलाई उद्धार गरी सकुशल सिक्किम ल्याइएको छ। यता, राईको उद्धारलाई लिएर सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) र विपक्षी सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमबीच श्रेयको होडबाजी शुरु भएको छ। इन्द्रकला राईलाई दिल्लीमा उद्धार गर्न सीएपीले महत्वपूर्ण भूमिका खेलेको, तर एसकेएम सरकारले आफ्नो राजनैतिक फायदाको लागि षड्यन्त्रपूर्वक श्रेय लिइरहेको सीएपीले आरोप लगाएको छ।

राजधानीमा‌ आज आयोजित पत्रकार सम्मेलनमा सीएपी सोरेङ जिल्ला अध्यक्ष पेम दोर्जी शेर्पाले इन्द्रकला राई रुम्बुक, दरामदिनकी बासिन्दा रहेको र रोजगारीका लागि दिल्ली पुगेपछि बेपत्ता भएको जानकारी दिए। घटना सीएपीको जानकारीमा आएपछि दिल्लीमा रहेका पार्टीका राष्ट्रिय संयोजक पविन हाङ सुब्बाको सहयोगमा उनको खोजी शुरु गरिएको उनले बताए।

उनका अनुसार, केही दिनको निरन्तर प्रयासपछि राईलाई दिल्लीमै फेला पारिएको थियो। तर, यो विषय एसकेएम सरकारको जानकारीमा आएपछि सरकारले तत्काल सक्रियता देखाउँदै राईसँग सम्पर्क गरी उनलाई सिक्किम फर्काएको उनले दाबी गरे।

पेमा दोर्जी शेर्पाले एसकेएमले राजनीतिक लाभ लिनकै लागि घटनालाई आफ्नो पक्षमा प्रयोग गर्न खोजेको आरोप लगाए। उनले भने, “एसकेएमले यो विषयबाट राजनीतिक फाइदा लिन खोजेपछि हामीलाई पनि यसबारे बोल्न बाध्य हुनुपर्‍यो।”

यसैगरी, सीएपी सोरेङ जिल्ला युवा अध्यक्ष आसबीर साम्पाङ राईले इन्द्रकला राई आफ्नै छिमेकी रहेको बताए। उनका अनुसार, राई २४ जुलाईदेखि दिल्लीमा बेपत्ता थिइन्। उनी बेपत्ता भएको १४ दिनपछि आफू रुम्बुकस्थित उनको घरमा पुगेर परिवारका सदस्यहरूसँग भेटेको उनले बताए।

परिवारको आर्थिक अवस्था कमजोर भएकाले दिल्ली पुगेर आफ्नै खर्चमा खोजी गर्न सक्ने अवस्था नरहेको उनले बताए। त्यसपछि सीएपीका राष्ट्रिय संयोजक पविन हाङ सुब्बामार्फत दिल्लीमा राईको खोजी कार्य अघि बढाइएको र केही दिनको प्रयासपछि उनलाई फेला पारिएको उनले दाबी गरे।

उनले राई फेला परेपछि एसकेएम पक्ष दिल्ली पुगेर उद्धारको श्रेय लिन खोजेको आरोप लगाए। मुख्यमन्त्रीले इन्द्रकला राईलाई रोजगार उपलब्ध गराउने आश्वासन दिएको उल्लेख गर्दै उनले त्यस निर्णयको स्वागत गरे। तर, इन्द्रकला राईका घरमा दुई छोरी रहेको उल्लेख गर्दै उनले भने, “यदि मुख्यमन्त्री वास्तवमै उनको परिवारप्रति चिन्तित हुनुहुन्छ भने उनका दुई छोरीलाई पनि रोजगारीको व्यवस्था गरियोस्।”

सीएपीका प्रवक्ता एडु छिरिङ भोटियाले भने प्रत्येक विषयलाई राजनीतिकरण गर्नु उचित नभएको बताइन्। उनले मानवीय आधारमा आफूहरूले कुनै राजनीतिक लाभको अपेक्षा नगरी चुपचाप सहयोग गरेको दाबी गरिन्।

उनले भनिन्, “हामीले मानवीय आधारमा काम गरेका हौँ, राजनीतिक लाभ लिन होइन। मुख्यमन्त्रीले हरेक राम्रो कामको श्रेय लिन चाहनुहुन्छ भने गलत कामको जिम्मेवा

री पनि लिनुपर्छ।”

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande