
जोधपुर, २८ अगस्त (हि.स.)। राजस्थान पुलिसले लागुऔषधविरुद्ध चलाएको अभियानअन्तर्गत एएनटीएफ (एन्टी नारकोटिक्स टास्क फोर्स) ले रक्षाबन्धनको अवसरमा नागौर जिल्लामा ठूलो कारबाही गर्दै जयपुरमा ठूलो परिमाणमा एमडी लागुऔषध आपूर्ति गर्ने कथित योजनालाई विफल पारेको छ। कारबाहीका क्रममा ५ किलो ४०० ग्राम अवैध एमडी ड्रग बरामद गरिएको छ, जसको अन्तरराष्ट्रिय बजार मूल्य करिब १ करोड ६२ लाख रुपियाँ रहेको बताइएको छ। घटनामा एक नाबालकलाई नियन्त्रणमा लिइएको छ भने तस्करीमा प्रयोग गरिएको कार पनि जफत गरिएको छ।
पुलिस महानिरीक्षक विकास कुमारका अनुसार, पुलिस महानिदेशक राजीव कुमार शर्मा तथा अतिरिक्त महानिदेशक दिनेश एमएनको मार्गदर्शनमा राज्यभर लागुऔषध तस्करविरुद्ध निरन्तर कारबाही भइरहेको छ। प्राप्त सूचनाका आधारमा एएनटीएफ टोलीले नागौर जिल्लामा संदिग्ध सवारीसाधनमाथि निगरानी राखेको थियो। नागौरबाट जयपुरतर्फ लैजाँदै गरिएको एमडीको खेप जयपुर पुग्नुअघि नै नियन्त्रणमा लिइएको हो।
सूचनाका आधारमा दुगौली गाउँ क्षेत्रमा खारी जोधा मार्गस्थित देवनारायण बगीची अगाडि निगरानी तथा नाकाबन्दी गरिएको थियो। सो क्रममा संदिग्ध कार रोकेर स्थानीय पुलिस सहयोगमा तलासी लिइयो। यस क्रममा कारको खलासी सिटमुनि राखिएको एउटा प्याकेटबाट पाँचवटा प्लास्टिकको थैलामा लुकाइएको एमडी बरामद भएको पुलिस जनाएको छ।
प्रारम्भिक सोधपुछका क्रममा उक्त एमडी नागौर क्षेत्रबाट जयपुर लगेर कथित रूपमा विभिन्न पार्टीमा आपूर्ति गर्ने योजना रहेको खुलेको छ। आईजी विकास कुमारका अनुसार, नियन्त्रणमा लिइएका बालकको मोबाइल फोन अनुसन्धानका लागि सुरक्षित गरिएको छ। मोबाइलमा रहेको एउटा अकाउन्टिङ एपबाट करिब १८ लाख रुपियाँको कारोबारसँग सम्बन्धित महत्वपूर्ण सुराग फेला परेको छ।
पुलिसका अनुसार एमडी उपलब्ध गराउने मुख्य सप्लायर, ओसारपसारमा सहयोग गर्ने व्यक्तिहरू तथा सम्पूर्ण आपूर्ति सञ्जालको पहिचान गर्न विस्तृत अनुसन्धान भइरहेको छ। एएनटीएफको उद्देश्य लागुऔषध बरामद गर्नेमात्र नभई यसको स्रोत, सप्लायर, रिसिभर र सम्पूर्ण तस्करी नेटवर्कसम्म पुग्नु रहेको आईजी विकास कुमारले बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल