प्रिया पुनियाको उत्कृष्ट प्रदर्शनको बलमा साउथ दिल्लीको जित, ईस्ट दिल्ली ७० रनले पराजित
प्रिया पुनिया


नयाँ दिल्ली, ३० अगस्त (हि.स.)। साउथ दिल्ली सुपरस्टार्जले महिला दिल्ली प्रिमियर लिग (डीपीएल) मा शानदार प्रदर्शन गर्दै ईस्ट दिल्ली राइडर्सलाई ७० रनले पराजित गरेको छ। शनिबार राति अरुण जेटली स्टेडियममा खेलिएको खेलमा साउथ दिल्लीको जितकी मुख्य नायिका ओपनर ब्याटर प्रिया पुनिया रहिन्। उनले शानदार शतक प्रहार गर्दै आफ्नो टोलीलाई बलियो स्कोर बनाउन महत्वपूर्ण योगदान दिइन्।

प्रिया पुनियाले मात्र ६६ बलमा ११७ रनको विस्फोटक पारी खेलिन्। उनको पारीमा १३ चौका र ६ छक्का समावेश थिए। पुनियाले शुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै ईस्ट दिल्लीका बलरमाथि लगातार दबाउ बनाइन्। उनले मैदानको चारैतिर आकर्षक सट खेल्दै नियमित अन्तरालमा बाउन्ड्री प्रहार गरेर रन गति तीव्र बनाइरहिन्। उनको आक्रामक ब्याटिङका कारण अर्को छेउमा रहेका ब्याटरहरूले पनि खुलेर खेल्ने अवसर पाए।

पुनियाको शानदार पारीको मद्दतमा साउथ दिल्ली सुपरस्टार्जले २० ओभरमा ४ विकेट गुमाएर १८० रनको ठूलो स्कोर बनाउॅंदै ईस्ट दिल्ली राइडर्ससामु १८१ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्‍यो।

१८१ रनको लक्ष्य पछ्याएको ईस्ट दिल्ली राइडर्सको शुरुवात भने राम्रो हुन सकेन। साउथ दिल्लीका बलरहरूले नियमित अन्तरालमा विकेट लिएर राइडर्सलाई दबाउमा राखे। यसक्रममा १४औँ ओभरसम्म ईस्ट दिल्लीले ६१ रनमै पाँच विकेट गुमाइसकेको थियो।

लगातार विकेट गुमेपछि ईस्ट दिल्लीका ब्याटरहरूले ठूला साझेदारी बनाउन सकेनन्। लक्ष्य पूरा गर्न आवश्यक ठूला सट र तीव्र रन गति पनि टोलीले हासिल गर्न सकेन। अन्ततः ईस्ट दिल्ली राइडर्सले २० ओभरमा ६ विकेट गुमाएर ११० रन मात्र बनाउन सक्यो र ७० रनको हार व्यहोर्नुपर्‍यो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande