अनेसास सिक्किम च्याप्टरले 35औं नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो
अनेसास सिक्किम च्याप्टरले 35औं नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो


- विश्वभरि छरिएका नेपालीलाई एकताबद्ध गर्न अनेसासको ठूलो भूमिका: रुद्र पौड्याल

गान्तोक, 30 अगस्त (हि.स.)। अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सिक्किम च्याप्टरले आज नेपाली साहित्य परिषद्, सिक्किमको सभाकक्षमा 35औं नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो। कार्यक्रम सिक्किम च्याप्टरका अध्यक्ष रूद्र पौड्यालको अध्यक्षतामा सम्पन्न भएको संस्थाकी महासचिव डा. कविता सुब्बाले प्रेस विज्ञप्तिमा दिएकी छन्।

कार्यक्रममा अनेसास सिक्किम च्याप्टरकी आजीवन सदस्य उषा शर्माले स्वागत सम्बोधन राखेपछि केन्द्रिय समितिकी पूर्व सदस्य रत्न लक्सम सुब्बा, केन्द्रिय कार्यसमितिकी सल्लाहकार डा. पुष्प शर्मा तथा केन्द्रिय कार्यसमितिका नवनिर्वाचित सदस्य डा. पारसमणि दंगाललाई सम्मान गरिएको थियो।

कार्यक्रममा डा. पुष्प शर्माले हालै अमेरिकाको कोलोराडोमा सम्पन्न भएको अन्तरराष्ट्रिय सम्मेलनको विषयमा आफूले सिक्किम च्याप्टरको प्रतिनिधित्व गरेको बताउँदै सम्मेलनका विषय जानकारी साझा गरिन्।

डा. पारसमणि दंगालले नेपाली भाषा मान्यताको इतिहासका विषयमा आफ्नो विचार राख्दै भारतभूमिबाटै नेपाली भाषाको नामकरण र मान्यताको आन्दोलन कसरी शुरु भएको बताए। उनले भारतमा सन् 1916-बाट भाषा आन्दोलन शुरु भएको तथ्य सार्वजनिक गरे।

सभाध्यक्ष रूद्र पौड्यालले अनेसासले विश्वभरि छरिएका नेपालीलाई एकताबद्ध गर्न अनेसासले ठूलो भूमिका निर्वाह गरेको जानकारी दिँदै यसले सदैव नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्बर्द्धनमा निम्ति काम गर्दै आएको बताए।

कार्यक्रममा पूर्ण योञ्जन, प्रद्युम्न श्रेष्ठ, मीना सुब्बा, रत्न लक्सम सुब्बा, उषा शर्मा, मुङ्गा राई, चन्द्र दुलाल, विष्णुमाया कटेल, जीएस लिम्बूले कविता र मणिका शर्माले लघु कथा वाचन गरेका थिए।

कार्यक्रममा नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष हरि ढुङ्गेल, अन्तरराष्ट्रिय नेपाली साहित्य समाज केन्द्रिय सल्लाहकार प्रोफेसर डा. पुष्प शर्मा, साहित्यकार केएन शर्मा, चुनिलाल घिमिरे, पीएल शर्मा, सूधा एम राई, टीका ढुङ्गेल आदिको पनि उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande