
गान्तोक, 07 अगस्त (हि.स.)।सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज गान्तोकस्थित रिज पार्क परिसरमा टेन्दोङ ल्हो रुम फातको पूर्वसन्ध्यामा लेप्चा समुदायद्वारा आयोजित भव्य सांस्कृतिक कार्यक्रम ‘यङथोम’ को तेस्रो संस्करणमा सहभागिता जनाए। कार्यक्रममा लेप्चा समुदायको संस्कृति, सिर्जनशीलता तथा उद्यमशीलतालाई उजागर गर्ने परम्परागत खुल्ला बजार पनि आयोजना गरिएको थियो।
कार्यक्रमले ७ अगस्त, १९०५ मा प्रारम्भ भएको ऐतिहासिक स्वदेशी आन्दोलनको भावनालाई पनि स्मरण गरेको थियो, जसले भारतीयहरूमा स्वदेशी उत्पादनप्रतिको गौरव, आत्मनिर्भरता तथा राष्ट्रिय स्वाभिमानको भावना सुदृढ़ बनाएको थियो।
यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, टेन्दोङ ल्हो रुम फात समितिका अध्यक्ष तथा स्वास्थ्य मन्त्री जीटी ढुङ्गेल, कृषि मन्त्री पूरण गुरुङ, समितिका अध्यक्ष एवं गान्तोकका विधायक दिले नाम्ग्याल बर्फुङ्पा आदिको पनि उपस्थिति रहेको थियो।
राज्यपालले कार्यक्रममा राखिएका लेप्चा समुदायका परम्परागत कला, हस्तकला, बाँस तथा निगालोबाट निर्मित सामग्री, परम्परागत पोशाक तथा अन्य स्थानीय उत्पादनहरूको प्रदर्शनी अवलोकन गर्नुका साथै स्थानीय उत्पादन खरिद पनि गरे। उनले कारीगर तथा समुदायका सदस्यहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको सीप र सिर्जनशीलताको प्रशंसा गरे।
आफ्नो सम्बोधनमा राज्यपालले यो कार्यक्रम केवल सांस्कृतिक उत्सव मात्र नभई सिक्किमको जीवित सांस्कृतिक सम्पदाको प्रतिबिम्ब रहेको बताए, जहाँ प्रकृति, परम्परा, कला र संस्कृतिको अद्भुत समन्वय देख्न सकिन्छ। उनले लेप्चा समुदायले पुस्तौँदेखि आफ्ना विशिष्ट परम्परा, हस्तकला तथा प्रकृतिसँग सामञ्जस्यपूर्ण जीवनशैलीलाई संरक्षण गर्दै आएको उल्लेख गर्दै त्यसलाई सम्पूर्ण विश्वका लागि प्रेरणादायी उदाहरणको रूपमा वर्णन गरे।
राष्ट्रिय हस्तकरघा दिवसको अवसरमा राज्यपालले सबै नागरिकलाई “स्थानीय उत्पादन किनौँ, स्थानीयलाई प्रोत्साहन गरौँ” भन्ने अभियानलाई आत्मसात् गर्दै सिक्किमको समृद्ध सांस्कृतिक सम्पदालाई विश्वसामु पुर्याउन सक्रिय सहभागिता जनाउन आह्वान गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल