
गान्तोक, 07 अगस्त (हि.स.)। जर्नलिस्ट युनियन अफ् सिक्किम (जेयुएस) को नवनिर्वाचित कार्यकारी समितिलाई पुरानो समितिले आय-व्यय र प्रशासनिक कार्यभार विधिवत रूपमा हस्तारण गरेको छ। जेयुएसको कार्यालयमा आज सम्पन्न भएको हास्तान्तरण कार्यक्रममा अध्यक्ष प्रवीण खालिङले पूर्व अध्यक्ष सुजल प्रधानबाट प्रशासनिक कार्यभार ग्रहण गरे।
यसैगरी, महासचिव सुरज लिम्बूले पूर्व महासचिव नरबहादुर घिमिरेबाट लेखाजोखाको जिम्मेवारी ग्रहण गरे। अर्कोतिर, नवनिर्वाचित कोषाध्यक्ष अम्बर गुरुङले पूर्व कोषाध्यक्ष मनिता तामाङको बाहुलीबाट आय व्ययको सम्पूर्ण हिसाब ग्रहण गरे।
हस्तान्तरण कार्यक्रमपछि जेयुएसको नवनिर्वाचित कार्यकारी समितिको पहिलो बैठक अध्यक्ष प्रवीण खालिङको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा पुरानो समितिलाई आभार प्रकट गर्दै संगठनलाई बलियो बनाउने तथा पत्रकारमैत्री गतिविधिलाई तीव्रता दिन विभिन्न निर्णय गरिएको छ।
बैठकले जेयुएसको नयाँ कार्यकारी समितिमा विभिन्न क्षेत्रको निम्ति प्रतिनिधिहरूलाई मनोनित गर्ने निर्णय गरेको छ। जसमा तीनजना सल्लाहकार, सिक्किमको सबै जिल्लामा समन्वयक मनोनयन, पाँचजना कार्यकारी सदस्य मनोनयन, स्वास्थ्य सल्लाहकार र कानुनी सल्लाहकारको नियुक्ति गरिने निर्णय गरेको छ।
जेयुएसको बैठकमा सिक्किमको राजधानी गान्तोकको एमजी मार्गमा गान्तोक नगर निगमसित समन्वय बनाएर समाचार पत्रको स्टल स्थापित गरिने र उक्त स्टलमा निःशुल्क दैनिक समाचार पत्र पाठकहरूको निम्ति पढ्ने व्यवस्था गरिने बैठकले निर्णय गरेको छ।
जेयुएसको सदस्यता लिन चाहनेहरूको निम्ति यो वर्षको पहिले चरणमा 10 अगस्तदेखि 31 अगस्त 2026 सम्म सदस्यता ग्रहण गर्न जिल्ला समन्वयकहरूको सिफारिसमा सदस्यता फारम भर्न सक्ने प्रावधानलाई बैठकले स्वीकार गरेको छ। जेयुएसले कार्यक्रमको शुरुआत आगामी 19 अगस्तको दिन विश्व फोटोग्राफी दिवसको अवसरमा पत्रकारहरूको निम्ति फोटो प्रतियोगिता आयोजन गरेर गर्ने निर्णय गरेको छ।
उक्त फोटोग्राफी प्रतियोगिता जेयुएसका पूर्व संरक्षक स्वार्गीय किरण रसाइलीलाई श्रद्धाञ्जलि दिँदै आयोजन गरिने बैठकले निर्णय गरेको छ। आगामी 16 अगस्तसम्म प्रतियोगितामा मोबाइल र डीएसएलआरले खिचेको फोटो पठाएर सहभागी हुनसक्ने तथा विजयी तीनलाई 19 अगस्तको दिन विशेष कार्यक्रममा नगद पुरस्कारसहित सम्मानित गरिने बैठकले निर्णय गरेको छ।
फोटोग्राफी प्रतियोगिताको थिम मनसुन (वर्खा) रहनेछ। यसका साथै भावि कार्यक्रमहरूको निम्ति विभिन्न योजना र कार्यनीतिबारे बैठकले विस्तृत चर्चा गरेको जेयुएसकी प्रचार सचिव अनुशिला शर्माले जारी गरेको प्रेस बयानमा उल्लेख छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल