
गान्तोक, 07 अगस्त (हि.स.)। पाँचौं राष्ट्रिय जेभलिन थ्रो दिवस २०२६ आज रेसिथाङस्थित खेल गाउँमा मनाइयो। यस अवसरमा सिक्किम एथलेटिक्स संघ र खेलो इन्डिया स्टेट सेन्टर अफ एक्सिलेन्स, रेसिथाङको संयुक्त आयोजनामा जेभलिन थ्रो प्रतियोगिता आयोजना गरियो।
प्रत्येक वर्ष ७ अगस्तका दिन भारतीय जेभलिन थ्रो खेलाडी नीरज चोपड़ाले २०२१ टोकियो २०२० ओलम्पिकमा स्वर्ण पदक जितेर भारतलाई एथलेटिक्समा पहिलो ओलम्पिक स्वर्ण दिलाएको ऐतिहासिक उपलब्धिको स्मरणमा राष्ट्रिय जेभलिन थ्रो दिवस मनाइन्छ। उनको उपलब्धिले देशभरका नयाँ पुस्ताका खेलाडीलाई प्रेरणा दिँदै आएको छ।
पुरुष खुल्ला वर्गमा डुमर गाराले ३९.६१ मिटर भाला फ्याँकेर प्रथम स्थान हासिल गरे। अभय ३१.८३ मिटरका साथ दोस्रो तथा हेम छेत्री ३०.०८ मिटरका साथ तेस्रो स्थानमा रहे।
महिला खुल्ला वर्गमा रिवा बराइली ले २३.३३ मिटर भाला फ्याँकेर प्रथम स्थान हासिल गरिन्। सबिना राई १६.३० मिटरका साथ दोस्रो तथा अप्सरा छेत्री १४.१५ मिटरका साथ तेस्रो स्थानमा रहिन्।
यस प्रतियोगिताले खेलाडीहरूलाई प्रतिस्पर्धात्मक अनुभव प्रदान गर्नुका साथै जेभलिन थ्रो खेलमा आवश्यक शक्ति, सटीकता, प्रविधि र निरन्तरताको महत्वलाई उजागर गरेको छ। साथै, यसले युवा खेलाडीहरूलाई थ्रोइङ इभेन्टतर्फ आकर्षित गर्दै एथलेटिक्समा उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने उद्देश्य पनि राखेको थियो।
कार्यक्रममा सिक्किम एथलेटिक्स संघका, गान्तोक जिल्ला एथलेटिक्स संघ, खेलो इन्डिया स्टेट सेन्टर अफ एक्सिलेन्सका हाई परफर्मेन्सका पदाधिकारीहरू पनि उपस्थित थिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल