सिक्किम प्रकृति संरक्षण, समृद्ध सांस्कृतिक सम्पदा तथा ‘विविधतामा एकता’ को जीवन्त उदाहरण: राज्यपाल
लेप्चा युवतीहरु


गान्तोक, 07 अगस्त (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले टेन्दोङ ल्हो रुम फातको पावन अवसरमा सम्पूर्ण सिक्किमवासी, विशेषगरी लेप्चा समुदायप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, 'लेप्चा समुदायले मनाउने टेन्दोङ ल्हो रुम फात पर्व प्रकृतिप्रतिको आराधनाको प्रतीक हो, जसले हामीलाई पर्यावरणप्रति कृतज्ञता र सम्मान व्यक्त गर्न प्रेरित गर्दछ। यस अवसरमा लेप्चा समुदायले टेन्दोङ पर्वतको श्रद्धापूर्वक पूजा-आराधना गर्दै सङ्कटको समयमा मानव जीवनको रक्षा गरेको प्रकृतिप्रतिको आफ्नो गहिरो आस्था प्रकट गर्दछ। यो पर्वले मानव र प्रकृतिबीचको अटुट सम्बन्धलाई अझ प्रगाढ़ बनाउने सन्देश दिन्छ।'

उनले सिक्किम प्रकृति संरक्षण, समृद्ध सांस्कृतिक सम्पदा तथा ‘विविधतामा एकता’ को जीवन्त उदाहरण रहेको उल्लेख गर्दै विभिन्न समुदायले आफ्ना मौलिक परम्परा र संस्कारलाई संयुक्त रूपमा संरक्षण गर्दै राज्यको सामाजिक सद्भाव र एकतालाई सुदृढ़ बनाइरहेको बताए।

राज्यपालले यस पावन अवसरमा सबैलाई सिक्किमको समृद्ध संस्कृति र परम्पराको सम्मान गर्दै त्यसको संरक्षण तथा संवर्द्धनका लागि प्रतिबद्ध हुन आह्वान गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande