नाम्चीमा परम्परागत लेप्चा रीतिरिवाजसहित टेन्दोङ ल्हो रुम फात पर्वको शुभारम्भ
टेन्दोङ ल्हो रुम फात


नाम्ची, 07 अगस्त (हि.स.)। टेन्दोङ ल्हो रुम फात पर्वको पूर्वसन्ध्यामा आज नाम्चीस्थित सेन्ट्रल पार्कमा परम्परागत धार्मिक अनुष्ठान सम्पन्न गरिएको छ। उक्त पवित्र अनुष्ठान लेप्चा एसोसिएसनको आयोजनामा नाम्ची र कालेबुङका बुङथिङहरूद्वारा परम्परागत लेप्चा रीतिरिवाजअनुसार सम्पन्न गरियो।

कार्यक्रममा शहरी विकास विभागका मन्त्री भोजराज राई मुख्य अतिथिका तथा नाम्ची-सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक सतीशचन्द्र राई विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। यसैगरी, कार्यक्रममा जिल्लापाल अनुपा ताम्लिङ, एसएसपी सोनाम डी. भोटिया, आरएमआरटीका सदस्यहरू तथा नाम्चीका स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

यस धार्मिक अनुष्ठानसँगै लेप्चा समुदायको अत्यन्त श्रद्धापूर्वक मनाइने पर्व टेन्दोङ ल्हो रुम फातको औपचारिक शुभारम्भ भएको छ। गहिरो आध्यात्मिक विश्वासमा आधारित यस पर्वले प्रकृतिसँगको लेप्चा समुदायको अटुट सम्बन्ध, समृद्ध सांस्कृतिक सम्पदा तथा सिक्किमका आदिवासी परम्परा र संस्कृतिको संरक्षणप्रतिको प्रतिबद्धतालाई झल्काउँछ।

आजै साँझ बुङथिङहरू तथा लेप्चा समुदायका सदस्यहरू भोलि मनाइने मुख्य टेन्दोङ ल्हो रुम फात पर्वको तयारीका लागि टेन्दोङ डाँडा तर्फ पैदल यात्रा (ट्रेक) गर्ने कार्यक्रम रहेको पनि जानकारी दिइएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande