
गान्तोक, 07 अगस्त (हि.स.)। सप्ताहव्यापी विश्व स्तनपान सप्ताह २०२६ गत 1 देखि 7 अगस्तसम्म राज्यभरि मनाइयो। यस क्रममा आज गान्तोक ग्रामीण परियोजना अन्तर्गत थामी डाँडा आङ्गनवाडी केन्द्रमा समापन समारोह सम्पन्न भयो।
समापन कार्यक्रममा आईसीडीएसकी उपनिर्देशक दोर्जी डोमा भोटिया, सुपरभाइजर, आङ्गनवाडी कार्यकर्ता, आशा कार्यकर्ता तथा पोषण शिक्षिकाको उपस्थिति रहेको थियो।
यस अवसरमा महिला, बालबालिका, वरिष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागको पोषण शाखाले स्तनपानसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पहिचान गरिएकी एक ‘स्मार्ट मदर’ लाई खादा, प्रशंसापत्र तथा पौष्टिक बहु-अनाज (मल्टिग्रेन) पाउडर प्रदान गरी सम्मान गरेको थियो। यो सम्मान जन्मपछिको पहिलो छ महिनासम्म शिशुलाई केवल आमाको दूध खुवाउने (एक्सक्लुसिभ स्तनपान) तथा त्यसपछि पूरक आहार शुरु गर्ने विषयमा जनचेतना फैलाउन प्रोत्साहनस्वरूप प्रदान गरिएको हो।
कार्यक्रममा उपनिर्देशक दोर्जी डोमा भोटियाले यस वर्षको विश्व स्तनपान सप्ताहको नाराबारे जानकारी दिँदै यसको महत्व प्रष्ट पारिन्। कार्यक्रममा उपस्थित गर्भवती तथा स्तनपान गराइरहेका आमाहरूलाई स्तनपानका फाइदा, पहिलो छ महिनासम्म केवल आमाको दूध खुवाउनुपर्ने आवश्यकता तथा त्यसपछि उचित पूरक आहार शुरु गर्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल