
खरसाङ, 09 अगस्त (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) का अध्यक्ष अनित थापाले गोर्खाल्याण्ड पार्टीको मात्र नभई सम्पूर्ण गोर्खा जातिको मुद्दा रहेको बताएका छन्। उनले गोर्खाल्याण्डको मागमा हुने कुनै पनि कार्यक्रमलाई आफ्नो पार्टीले समर्थन गर्ने स्पष्ट पारे।
खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा बीजीपीएम टुङ-सेन्ट मेरीज समष्टिद्वारा आयोजित कर्मी सभालाई सम्बोधन गर्दै थापाले भने, “बीजीपीएम पार्टीको एउटै लक्ष्य गोर्खाल्याण्ड हो। जहाँ-जहाँ गोर्खाल्याण्डको आवाज उठ्छ, त्यहाँ-त्यहाँ मेरो र पार्टीको समर्थन रहनेछ।” उनले गोर्खाको किपट र क्षेत्रीयता कमजोर हुँदै गएको दाबी गर्दै पहाडका सबै राजनीतिक नेतृत्वले यस विषयमा गम्भीर भएर सोच्नुपर्ने बताए। गोर्खा जातिको निर्णायक लडाइँ नै आफ्नो लक्ष्य रहेको उनको भनाइ थियो।
पार्टी छाडेर जाने निर्वाचित पञ्चायत सदस्य तथा सभासदहरूप्रति कटाक्ष गर्दै थापाले बीजीपीएमको विचारमा अडिग रहनेहरू मात्र पार्टीसँग रहेको बताए। उनले जीटीएको कार्यकाल अझै १५ महिना बाँकी रहँदा पनि गोर्खाल्याण्डको मागका लागि आफूले जीटीएको कुर्सी त्यागेको दाबी गरे।
उनले भने, जीटीए गोर्खाल्याण्डको निम्ति बाधा हुन्छ भन्ने सोचलाई सम्मान गर्दै मैले कुर्सी त्यागेको हुँ। तर केही व्यक्तिहरू सत्ता सम्हाल्नतर्फ लागे। भाजपालाई समर्थन गरेको आरोपबारे स्पष्ट पार्दै थापाले आफूले भाजपालाई समर्थन गर्ने कुरा कहिल्यै नभनेको बताए। यद्यपि, “पार्टीभन्दा गोर्खाको माग ठूलो हो” भन्ने दार्जिलिङका सांसद राजु विष्टको भनाइलाई आफूले समर्थन गरेको उनले बताए। राजु विष्टको हात बलियो बनाउनुपर्छ भन्नुको अर्थ भाजपालाई समर्थन गर्नु नभएको उनले स्पष्ट पारे।
थापाले गोर्खाहरूको आवाज र अधिकार क्रमशः खोसिँदै गएको दाबी गर्दै राजनीतिक दलहरूभन्दा माथि उठेर गोर्खा जातिलाई गरिएको गोर्खाल्याण्डसम्बन्धी प्रतिबद्धता पूरा गर्नुपर्ने बताए। पञ्चायती व्यवस्थाबारे बोल्दै उनले आफ्नो पार्टीले पञ्चायती व्यवस्था पुनःस्थापित गर्न भूमिका खेलेको दाबी गरे। तर आफूहरूलाई आवश्यक परेको समयमा निर्वाचित प्रतिनिधिहरूले पार्टी छाडेको आरोप लगाउँदै उनले “पञ्चायतलाई सरकारले जीवित लास बनाइदिएको छ” भन्ने टिप्पणी गरे।
हिन्दुस्थान समाचार / हनोक