सिक्किमका इङ्सा हाङ सुब्बा हार्वर्ड युनिभर्सिटीको डिजाइन स्टडीज कार्यक्रममा चयन
Ingsa hang subba


गान्तोक, 09 अगस्त (हि.स.)। सिक्किमका युवा डिजाइनर तथा अनुसन्धानकर्ता इङ्सा हाङ सुब्बा अमेरिकाको प्रतिष्ठित हार्वर्ड युनिभर्सिटीअन्तर्गत ग्रेजुएट स्कूल अफ डिजाइनको मास्टर इन डिजाइन स्टडिज शैक्षिक कार्यक्रममा चयन भएका छन्। उनले आगामी सेप्टेम्बर महिनादेखि हार्वर्डमा अध्ययन शुरु गर्नेछन्।

गान्तोक निवासी इङ्सा हाङ सुब्बा सिक्किम लोक सेवा आयोगका पूर्व अध्यक्ष एसबी सुब्बा तथा वरिष्ठ साहित्यकार रत्ना लक्सम सुब्बाका छोरा हुन्। उनले गान्तोकस्थित ताक्से इन्टरनेश्नल स्कूलबाट विद्यालय शिक्षा पूरा गरेका थिए भने अमेरिकाको इन्डिकोट कलेजबाट गणित विषयमा स्नातक गरेका हुन्।

हार्वर्डको मास्टर इन डिजाइन स्टडिज शैक्षिक कार्यक्रममा प्रवेश पाउने सम्भवत सिक्किमका पहिलो विद्यार्थी हुन्। उक्त शैक्षिक विषयमा प्रवेश प्रक्रिया निकै प्रतिस्पर्धात्मक मानिन्छ। शैक्षिक उपलब्धि, शैक्षिक र व्यावसायिक कार्यको पोर्टफोलियोलगायत विभिन्न आधारमा उम्मेदवारको मूल्याङ्कन गरिन्छ। सुब्बाले जानकारी गराएअनुसार उपलब्ध विवरणअनुसार कार्यक्रममा आवेदन दिनेहरूमध्ये पाँच प्रतिशतभन्दा कम उम्मेदवार मात्र चयन हुने गर्छन्। यस विषयले डिजाइन, प्रविधि, कला तथा नयाँ अनुसन्धानका क्षेत्रबीचको अन्तरसम्बन्धलाई अध्ययनमा अवसर प्रदान गर्ने बताए।

उनले स्नातक तहमा गणित विषयबाट अध्ययन शुरु गरेपछि दर्शनशास्त्रतर्फ समेत आफ्नो रुचि विस्तार गरेका थिए। व्यावसायिक क्षेत्रमा भने उनले पत्रकारिता, सञ्चार डिजाइन, सांस्कृतिक व्याख्या तथा प्रविधिसँग सम्बन्धित विभिन्न काम गरेका छन्। उनका धेरैजसो काम पूर्वी हिमालय क्षेत्रका संस्कृति र इतिहासप्रतिको रुचिसँग जोडिएका छन्।

हार्वर्डमा उनले ‘साउन्ड टोपोग्राफिक्स’ नामक अनुसन्धान परियोजनालाई थप विकास गर्ने योजना बनाएका छन्। कम्प्युटेसनल डिजाइन र कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत हिमालयका आदिवासी तथा स्थानीय भाषाहरूको अध्ययन गर्ने यो परियोजनाले भाषा र ध्वनिका स्वरूपले भूगोल, बसाइँ सराई तथा हिमालय क्षेत्रमा भएको सांस्कृतिक आदान-प्रदानबीचको सम्बन्ध कसरी उजागर गर्न सक्छ भन्ने विषयमा अनुसन्धान गर्नेछ। यो अनुसन्धान इङ्सा हाङ सुब्बाको ऐतिहासिक सिल्क रुट्सप्रतिको रुचिसँग पनि जोडिएको छ।

उनका अनुसार, हिमालयलाई केवल भौगोलिक सीमानाका रूपमा नभई शताब्दीयौँदेखि मानिस, भाषा, धर्म, प्रविधि र विचारहरूको आवतजावत हुँदै आएको सांस्कृतिक तथा बौद्धिक संगमस्थलका रूपमा हेर्न आवश्यक छ। ‘साउन्ड टोपोग्राफिक्स’ परियोजनाको दीर्घकालीन सम्भावनामा स्वास्थ्य अनुसन्धानसमेत जोडिएको बताए। पछिल्लो समय बोली तथा भाषामा आउने परिवर्तनलाई संज्ञानात्मक क्षमतामा आएको ह्रास तथा अल्जाइमर्सजस्ता न्युरोलोजिकल अवस्थाका सम्भावित संकेतका रूपमा अध्ययन गर्ने प्रयास भइरहेको जानकारी पनि उनले दिए। आदिवासी तथा कम स्रोत भएका भाषिक समुदायहरू यस्ता प्रविधि विकास गर्न प्रयोग हुने अनुसन्धानात्मक तथ्याङ्कमा पर्याप्त रूपमा प्रतिनिधित्व हुन नपाएको उल्लेख गरेका छन्। भविष्यमा ‘साउन्ड टोपोग्राफिक्स’ मार्फत विकसित हुने भाषिक तथ्याङ्क तथा कम्प्युटेसनल विधिहरूलाई आदिवासी तथा कम प्रतिनिधित्व भएका समुदायमा अल्जाइमर्स र संज्ञानात्मक क्षमतामा हुने ह्राससम्बन्धी अनुसन्धानमा उपयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा अध्ययन गर्न उनले यस प्रकारको कदम उठाएको जानकारी गराए। हार्वर्डमा इङ्सा हाङ सुब्बाले डिजाइन, कम्प्युटेसन, भाषाविज्ञान, दक्षिण एसियाली अध्ययन तथा भविष्यमा चिकित्सा अनुसन्धानजस्ता विभिन्न क्षेत्रबीच सहकार्य गर्दै अघि बढ्ने लक्ष्य राखेका छन्। उनको उद्देश्य पूर्वी हिमालयलाई कृत्रिम बुद्धिमत्तासम्बन्धी समकालीन बहसमा नयाँ ज्ञान, अनुसन्धान र प्रविधि सिर्जना गर्न सक्ने क्षेत्रका रूपमा स्थापित गर्नु रहेको छ। उनका अनुसन्धानले पूर्व हिमालयका समुदायलाई केवल संरक्षण गर्नुपर्ने सांस्कृतिक विरासतका रूपमा नभई आधुनिक प्रविधि र ज्ञानका नयाँ स्वरूप सिर्जना गर्न सक्ने स्रोतका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande