रङटङ पेडलर्स ग्रुपले पाँचौँ स्थापना दिवस साइकल र्यालीसहित मनायो
रंगटङ्ग पेडलर्स ग्रुप


रंगटङ्ग पेडलर्स ग्रुप


खरसाङ, 09 अगस्त (हि.स.)। सिलगढीको प्रख्यात साइकलिङ क्लब रङटङ पेडलर्स ग्रुपले आइतबार विभिन्न कार्यक्रमका साथ आफ्नो पाँचौँ स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसरमा बिहान सिलगढीको हिलकार्ट रोडस्थित कोर्टयार्डबाट सामुदायिक साइकल राइड आयोजना गरिएको थियो। राइडमा मालबजार, मिरिक, दार्जिलिङ, खरसाङ, नक्सलबारीलगायत विभिन्न क्षेत्रका साइकलप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

दार्जिलिङ मोड, सालबारी र सुकना हुँदै साइकल राइड ऐतिहासिक रङटङ रेलवे स्टेसन पुगेर सम्पन्न भएको थियो। त्यहाँ आयोजित कार्यक्रममा सहभागीहरूले राष्ट्रिय गान गाएर कार्यक्रमको शुरुवात गरेका थिए।

सो अवसरमा सिलगढीका वरिष्ठ साइकलयात्री जे. नरजिनारी र हरि अधिकारीलाई क्लबका अध्यक्ष यादव बान्तावाले खादा ओढाएर सम्मान गरे। कार्यक्रममा सहभागी युवा साइकलिस्टहरूलाई पनि विशेष स्वागत गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बान्तावाले साइकलिङले खेलकुद, शारीरिक तथा मानसिक स्वास्थ्य र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले रङटङ पेडलर्स ग्रुपको औपचारिक पञ्जीकरण प्रक्रिया पूरा भएको घोषणा गर्दै यसलाई सम्पूर्ण साइकलिङ समुदायका लागि उपलब्धिका रूपमा व्याख्या गरे।

उनका अनुसार, रङटङ पेडलर्स ग्रुप यस क्षेत्रकै पहिलो औपचारिक रूपमा दर्ता भएको साइकलिङ क्लब बनेको छ। आगामी दिनमा क्लबले विभिन्न साइकल रेस तथा अन्य साइकलिङसम्बन्धी कार्यक्रम आयोजना गर्ने उनले बताए।

क्लबका सचिव दीपक सिंहले स्थापना दिवसको कार्यक्रम सफल बनाउन विभिन्न क्षेत्रबाट सहभागी भएका साइकलिस्ट तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरे। उनले साइकलिङ संस्कृतिको प्रवर्द्धन गर्दै युवापुस्तालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने क्लबको प्रतिबद्धता दोहोर्‍याए।

स्थापना दिवसका अवसरमा आयोजित सामुदायिक साइकल राइड तथा सम्मान कार्यक्रमले साइकलप्रेमीहरूबीच एकता, खेलभावना, आपसी सद्भाव र भाइचाराको सन्देश दिएको आयोजकले जनाएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande