
सोनादा, 09 अगस्त (हि.स.)। गोर्खाल्याण्ड आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन बलिदान गर्ने वीर शहीदहरूको योगदानलाई स्मरण गर्दै शहीद दिवस समारोह समिति, खरसाङ र गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) सोनादा-पचेङ समष्टिको संयुक्त आयोजनामा आइतबार सोनादा क्षेत्रका शहीद परिवारलाई सम्मान गरिएको छ।
सन् १९८६ देखि गोर्खाल्याण्ड आन्दोलनमा प्राणको आहुति दिने शहीदहरूको सम्मानमा शहीद दिवस समारोह समिति खरसाङले गत २७ जुलाईमा खरसाङमा विशेष सम्मान समारोह आयोजना गरेको थियो। सोनादा क्षेत्रका शहीद परिवारलाई पनि उक्त कार्यक्रममा निमन्त्रणा गरिएको भए पनि सोही दिन सोनादामा गोरामुमो सोनादा-पचेङ समष्टिको अर्को सम्मान कार्यक्रम निर्धारित भएकाले उनीहरू खरसाङको कार्यक्रममा सहभागी हुन सकेका थिएनन्।
यसैलाई मध्यनजर गर्दै आइतबार सोनादा न्यू लाइट क्लब भवनमा संयुक्त रूपमा विशेष सम्मान समारोह आयोजना गरिएको हो। कार्यक्रममा शहीद परिवारका सदस्यहरूलाई खदा ओढाएर सम्मान गर्नुका साथै सम्मान हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा शहीद दिवस समारोह समिति खरसाङका सचिव अञ्जय छेत्री, सदस्यहरू भूषण देवान र अजय गुरुङ, गोरामुमो सोनादा–पचेङ समष्टिका अध्यक्ष भूपेन गुरुङ, प्रनित थापा, समष्टि प्रतिनिधिहरू, लोअर सोनादा ग्राम पञ्चायत सदस्य निमा तामाङ, गोरामुमो सोनादा टाउन कमिटी तथा विभिन्न शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गोरामुमो सोनादा-पचेङ समष्टिका अध्यक्ष भूपेन गुरुङले शहीदहरूप्रति साँचो श्रद्धाञ्जली उनीहरूले देखेको सपना साकार पार्नु नै हुने बताए। शहीदहरूले जुन उद्देश्यका लागि आफ्नो जीवन बलिदान दिएको स्मरण गर्दै उनले उक्त उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
समितिका सदस्य भूषण देवानले शहीद दिवस समारोह समितिको उद्देश्यबारे जानकारी दिँदै सन् १९८६ देखि २०१७ सम्म गोर्खाल्याण्ड आन्दोलनमा जीवन बलिदान गर्ने सम्पूर्ण शहीदहरूको योगदानलाई सम्मान र स्मरण गर्न समिति गठन गरिएको बताए। उनले खरसाङ विधानसभा क्षेत्रका विधायक सोनाम लामा समितिका अध्यक्ष रहेको जानकारी दिए।
भावी पुस्ताले शहीदहरूको त्याग, बलिदान र योगदानलाई कहिल्यै नबिर्सिऊन् भन्ने उद्देश्यले समितिले आफ्नो गतिविधि अघि बढाइरहेको देवानले बताए।
कार्यक्रममा शहीद परिवारका सदस्यहरूले आफ्ना प्रियजनहरूको बलिदानलाई स्मरण गर्दै सम्मान ग्रहण गरेका थिए। आयोजकहरूले शहीदहरूको योगदानलाई केवल स्मरणमा सीमित नराखी उनीहरूको आदर्श, उद्देश्य र सपनालाई भावी पुस्तासम्म पुर्याउनुपर्नेमा जोड दिएका छन्।
हिन्दुस्थान समाचार / हनोक