स्थायी राजनीतिक समाधानसँगै छुटेका ११ जातिलाई जनजातिको मान्यता दिनुपर्छ: अमीट थापा
Amit thapa


खरसाङ, 09 अगस्त (हि.स.)। गोर्खा भारतीय जनजाति महासंघका महासचिव अमीट थापाले स्थायी राजनीतिक समाधानसँगै छुटेका ११ जात-गोष्ठीलाई पनि जनजातिको मान्यता दिनुपर्ने माग गरेका छन्।

खरसाङमा मंगर संघ भारत, खरसाङ शहर समितिको वार्षिक साधारण सभामा मुख्य अतिथिका रूपमा सहभागी भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै थापाले जनजातिको मुद्दा सामाजिक भए पनि अहिले राजनीतिक मुद्दा बनिसकेको बताए।

उनले स्थायी राजनीतिक समाधान सबैको माग भएको उल्लेख गर्दै स्थायी राजनीतिक समाधान हुँदा ११ छुटेका जात-गोष्ठीको जनजाति मुद्दा पनि सँगसँगै टुंगो लगाउनुपर्ने महासंघको अडान रहेको बताए।

उनले भने, “स्थायी राजनीतिक समाधान सबैको माग हो। तर यो हुँदा ११ जनजातिको मुद्दा पनि हुनुपर्छ। यी दुवै विषय एकसाथ अघि बढ्नुपर्छ। स्थायी राजनीतिक समाधान हुँदा जसरी पनि जनजातिको मुद्दा फत्ते हुनुपर्छ।”

उनले सबै राजनीतिक दलहरूलाई छुटेका ११ जात-गोष्ठीको मुद्दालाई स्थायी राजनीतिक समाधानसँगै अघि बढाउन अपील गरे। राजनीतिक समाधानको प्रक्रियामा जनजातिको मुद्दालाई बेवास्ता गरिए लोकतान्त्रिक रूपमा सडकमा उत्रिनसमेत आफूहरू तयार रहेको उनले बताए। थापाका अनुसार, ११ जात-गोष्ठीको जनजाति मान्यतासम्बन्धी दस्तावेजीकरणको काम पूरा भइसकेको छ। उनले यो विषयमा लामो समयदेखि ढिलाई भइरहेको दाबी गर्दै केन्द्र सरकारले इच्छाशक्ति देखाएमा मुद्दा समाधान हुनसक्ने बताए।

उनले भने, “जनजातिको मुद्दा सामाजिक भए पनि अहिले राजनीतिक मुद्दा बनेको छ। स्थायी राजनीतिक समाधानका नाममा यस विषयमा पनि ढिलाई भइरहेको छ। यो मुद्दा छिनाफाना भइसकेको छ। जनजातिको मुद्दाबिना स्थायी राजनीतिक समाधान पूर्ण र सही हुँदैन।

थापाले जनजातिको मुद्दालाई पन्छाएर कुनै पनि राजनीतिक समाधान अघि बढाउन नहुने बताउँदै यसको लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए। कार्यक्रममा उनले हाल चलिरहेको जनगणनाका विषयमा पनि उपस्थितहरूलाई सचेत गराएका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande