
कोलकाता, 09 अगस्त(हि.स.)। पश्चिम बङ्गालमा आइतवार मौसमको स्वरूप परिवर्तन भइरहनेछ। मौसम विज्ञान विभाग अनुसार राज्यका उत्तरदेखि दक्षिणसम्मकै अधिकांश जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा वा मेघ गर्जनसितै वर्षा हुने सम्भावना छ। दक्षिण बङ्गालका सबै जिल्लाहरूका केही स्थानहरूमा वर्षा सम्भावना छ भने केही जिल्लाहरूमा बिजुली चम्किनको साथै 30-30 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्नसक्छ।
दक्षिण बङ्गालका कोलकाता, हावड़ा, हुगली, उत्तर 24 परगना, दक्षिण 24 परगना, पूर्व मेदिनीपुर, पश्चिम मेदिनीपुर, झाड़ग्राम, बाँकुड़ा, पुरुलिया, पूर्व बर्दवान, पश्चिम बर्दवान, बीरभूम, मुर्शिदाबाद औ नदियाका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा गर्जनसितै पानी पर्ने सम्भावना छ। पूर्व मेदिनीपुर, पश्चिम मेदिनीपुर, उत्तर 24 परगना, दक्षिण 24 परगना, पूर्व बर्दवान औ बीरभूममा एक-दुई वटा स्थानहरूमा बिजुली चम्किने, मेघ गर्जन तथा 30-40 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्नसक्छ।
उत्तर बङ्गालका दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार, कुचबिहार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर तथा मालदामा पनि अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा गर्जनसितै पानी पर्नसक्छ। कालेबुङ, दार्जीलिङ, जलपाईगुड़ी र अलिपुरका एक-दुई वटा स्थानहरूमा घना वर्षा हुनसक्छ। मालदा, उत्तर दिनाजपुर र दक्षिण दिनाजपुरमा मेघ गर्जन अनि 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ।
मौसम विभागले दक्षिण बङ्गालका केही भागहरूमा बिजुली चम्किने अनि तल्लो क्षेत्रहरूमा अस्थायी जलभराउ हुने आशङ्का व्यक्त गरेको छ। शहरी क्षेत्रहरूमा पानी परे यातायात प्रभावित हुनसक्छ।
मौसम परिवर्तन हुनुको मुख्य कारण दक्षिणी-पश्चिम बङ्गाल र यस संलग्न उत्तर ओडिशामाथि विकसित निम्न दबाव हो। यसको प्रभावले आगामी 24 घण्टासम्म राज्यका केही जिल्लाहरूमा 7 देखि 11 सेन्टीमीटरसम्म वर्षा हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा