अन्ना हजारेको स्वास्थ्य बिग्रिएपछि बम्बई अस्पतालमा भर्ती
अण्णा हजारे, फाईल फोटो


मुम्बई, 01 सेप्टेम्बर (हि.स.)। वरिष्ठ सामाजिक कार्यकर्ता अन्ना हजारेको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई मुम्बईको बम्बे अस्पतालको सघन उपचार कक्ष (आइसीयू) मा भर्ती गरिएको छ। चिकित्सकको विशेष टोलीले उनको निगरानी गरिरहेको छ र उनको उपचार जारी छ।

अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ। अन्ना हजारेको प्रख्यात चिकित्सक डा. गौतम भन्साली र उनको टोलीको निगानीमा उपचार भइरहेको छ। चिकित्सकहरूद्वारा उनको विभिन्न मेडिकल जाँच भइरहेको छ। रिपोर्ट आएपछि उपचारको मार्गबारे निर्णय गरिनेछ।

अन्ना हजारे विगत केही दिनदेखि अस्वस्थ थिए। उनी तीव्र खोकी, ज्वरो, कमजोरी र डिहाइड्रेसनबाट पीड़ित थिए। उनको स्वास्थ्य अपेक्षित रूपमा सुधार भएन र उनी कमजोर भएपछि डाक्टरहरूले उनलाई मुम्बई पुऱ्याउने निर्णय गरे। अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ, तर कमजोरीका कारण उनलाई आइसीयूमा विशेष निगरानीमा राखिएको छ।

सामाजिक कार्यकर्ता अञ्जली दमानियाले सामाजिक सञ्जालमा पोस्ट मार्फत अन्ना हजारेको खराब स्वास्थ्यबारे जानकारी दिइन्। अन्ना हजारेको अवस्था अहिले स्थिर रहेको पनि उनले जानकारी दिइन्। उनी अनुसार, उनी डिहाइड्रेसन र भाइरल सङ्क्रमणको उपचार गराइरहेका छन्।

अन्ना हजारे देशको प्रमुख सामाजिक कार्यकर्तामध्ये एक मानिन्छन्। साल 2011 मा इन्डिया एगेन्स्ट करप्सन आन्दोलनपछि उनले देशभरि व्यापक मान्यता प्राप्त गरे। महाराष्ट्रको रालेगणसिद्धी गाउँको विकास र यसलाई आदर्श गाउँका रूपमा विकास गर्ने उनको कामको पनि व्यापक प्रशंसा गरिएको थियो। हालै अन्ना हजारेले पनि 'नीट' पेपर लीक प्रकरणको विरोधमा आन्दोलन गरिरहेका विद्यार्थीहरूलाई समर्थन गरेका थिए। उनले विद्यार्थीहरूको समस्या समाधानका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका थिए। अन्ना हजारेको स्वास्थ्य बिग्रँदै गएको खबर सार्वजनिक भएपछि उनका समर्थक र शुभचिन्तकहरूबीच चिन्ताको माहोल छ। देशभरिका जनताले उनको शीघ्र स्वास्थ्य लाभका लागि प्रार्थना गरिरहेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande