
नयाँ दिल्ली, 0१ सेप्टेम्बर (हि.स.)। लोकसभा अध्यक्ष ओम बिरलालगायत विभिन्न नेताहरूले मंगलबार जैन सन्त तरुण सागरको पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
बिरलाले एक्समा लेखेका छन्, “राष्ट्रसन्त तरुण सागर महाराजको पुण्यतिथिमा म उहाँलाई श्रद्धापूर्वक नमन गर्दछु। आफ्ना तेजस्वी, निर्भीक र प्रेरणादायी प्रवचनमार्फत मुनिले धर्म सदाचार, आत्मसंयम र मानवकल्याणको मार्ग हो भन्ने देखाउनुभएको थियो। उहाँले भगवान महावीरको अहिंसा, सत्य, अपरिग्रह, करुणा तथा आत्मशुद्धिको सन्देशलाई समाजका व्यापक वर्गसम्म अत्यन्त सरल र प्रभावकारी भाषामा पुर्याउनुभएको थियो। तरुण सागरका शब्दमा आध्यात्मिक चेतनामात्र नभई सामाजिक जागरूकताको सशक्त आवाज पनि थियो। उहाँले मानवतालाई बाह्य आडम्बरभन्दा माथि उठेर आफ्ना विचार, व्यवहार र कर्मलाई शुद्ध बनाउन प्रेरित गर्नुभएको थियो। उहाँका विचारले आज पनि हामीलाई संयमित जीवन जिउन, नैतिक मूल्य कायम राख्न, सद्भाव प्रवर्द्धन गर्न तथा मानवताको मार्गमा हिँड्न प्रेरणा दिइरहेका छन्।”
केन्द्रिय कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले तरुण सागरले आफ्ना हृदयस्पर्शी प्रवचनमार्फत जीवन जिउने मधुर सन्देश दिएको बताए। उनको तपस्वी जीवन, शिक्षाहरू तथा कल्याणकारी विचारले आगामी पुस्तासम्म मानवताको हित प्रवर्द्धन गरिरहने र सबैलाई सदाचारको मार्गमा हिँड्न प्रेरित गर्ने उनले बताए।
केन्द्रिय कपडामन्त्री गिरिराज सिंहले तरुण सागरले आफ्ना ओजस्वी विचार तथा शिक्षामार्फत समाजलाई सत्य, धर्म र नैतिक मूल्यको मार्ग देखाएको बताए। उनका अमर विचारले सदैव मानवतालाई जनकल्याण र करुणातर्फ प्रेरित गरिरहने उनले बताए।
केन्द्रिय आवास तथा शहरी मामिलामन्त्री मनोहर लालले सत्य, अहिंसा तथा करुणाका प्रतिमूर्ति, महान् सन्त एवं दार्शनिक श्रद्धेय जैन मुनिका ओजस्वी प्रवचन तथा जीवनदर्शनले आमजनलाई सत्य र सदाचारको मार्गमा हिँड्न प्रेरित गरेको बताए। उनका शिक्षाले सदैव सबैको जीवनलाई आलोकित गरिरहने उनले बताए।
हिन्दुस्थान समाचार / भवानी थामी