पञ्जाबका पूर्व क्याबिनेट मन्त्री भगत चुन्नी लालको निधन
ਸਾਬਕਾ ਕੈਬਨਿਟ ਮੰਤਰੀ ਭਗਤ ਚੁੰਨੀ ਲਾਲ ਦੀ ਫਾਈਲ ਫੋਟੋ।


जालन्धर, 10 सेप्टेम्बर (हि.स.)। पञ्जाबका पूर्व क्याबिनेट मन्त्री भगत चुन्नी लालको बिहीबार बिहान ९३ वर्षको उमेरमा निधन भएको छ। उनले जालन्धरको बस्ती क्षेत्रमा रहेको आफ्नै निवासमा अन्तिम सास लिए। उनको निधनको खबर सार्वजनिक भएपछि राजनीतिक तथा सामाजिक क्षेत्रमा शोकको लहर छाएको छ। उनको अन्तिम संस्कार बिहीबार साँझ करिब ५ बजी बस्ती शेख श्मशानघाटमा गरिने भएको छ। भाजपा नेता शीतल अंगुरालसहित विभिन्न नेताले उनको निधनप्रति शोक व्यक्त गरेका छन्।

भगत चुन्नी लाल पञ्जाबको आम आदमी पार्टी सरकारका क्याबिनेट मन्त्री मोहिन्द्र भगतका पिता थिए। उनको जन्म १ दिसम्बर, १९३२ मा हाल पाकिस्तानमा पर्ने सियालकोटमा भएको थियो। उनकी पत्नी शीला देवीको यसअघि नै निधन भइसकेको छ। भारत-पाकिस्तान विभाजनपछि उनको परिवार जालन्धरमा आएर बसोबास गरेको थियो।

राजनीतिमा प्रवेश गर्नुअघि उनी खेलकुद सामग्रीको व्यवसायमा संलग्न थिए। उनले खेलकुद सामग्री विदेशमा निर्यात गर्ने व्यवसायसमेत सञ्चालन गरेका थिए। उनको परिवारमा चार छोरा र चार छोरी छन्।

भगत चुन्नी लालले सन् १९८५ मा निर्वाचन राजनीतिमा प्रवेश गरेका थिए। उनले जालन्धर दक्षिण विधानसभा क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाउ लडे पनि सफल हुन सकेनन्। त्यसपछि भारतीय जनता पार्टीमा आबद्ध भएर सक्रिय राजनीतिमा अघि बढे।

सन् १९९७ मा भाजपा उम्मेदवारका रूपमा जालन्धर दक्षिणबाट चुनाउ जित्दै उनी पहिलोपटक पञ्जाब विधानसभा पुगे। सन् २००७ मा उनले यही क्षेत्रबाट पुनः चुनाउ जिते। पछि विधानसभा क्षेत्रको सीमाङ्कनका कारण जालन्धर दक्षिण क्षेत्रको स्वरूप परिवर्तन भई जालन्धर पश्चिम विधानसभा क्षेत्र अस्तित्वमा आयो। सन् २०१२ को विधानसभा निर्वाचनमा उनले भाजपाका तर्फबाट जालन्धर पश्चिमबाट चुनाउ लडे र विजयी भए। यससँगै उनी तेस्रोपटक विधानसभा सदस्य बने।

राजनीतिक जीवनमा भगत चुन्नी लालले विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाले। सन् २०११ मा तत्कालीन विधानसभा उपसभामुख सतपाल गोसाईंले राजीनामा दिएपछि उनलाई पञ्जाब विधानसभाको उपाध्यक्ष चयन गरिएको थियो।

त्यसपछि सन् २०१२ देखि २०१७ सम्म प्रकाश सिंह बादलको नेतृत्वमा रहेको अकाली-भाजपा सरकारमा उनी क्याबिनेट मन्त्री बने। त्यस अवधिमा उनले स्थानीय निकाय, चिकित्सा शिक्षा तथा अनुसन्धान, श्रम तथा वन एवं वन्यजन्तु विभागको जिम्मेवारी सम्हाले।

भगत चुन्नी लाल सन् २०१२ देखि २०१७ सम्म पञ्जाब विधानसभामा भाजपा विधायक दलका नेतासमेत थिए। जालन्धर पश्चिमको राजनीतिमा उनको लामो समयसम्म प्रभाव रहेको थियो र उनलाई क्षेत्रका प्रमुख भाजपा नेतामध्ये एक मानिन्थ्यो।

करिब तीन दशक सक्रिय राजनीतिमा बिताएपछि उनले सन् २०१७ मा निर्वाचन राजनीतिबाट अवकाश लिने निर्णय गरे र त्यस वर्ष विधानसभा निर्वाचनमा उम्मेदवारी दिएनन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande