
नोएडा, १० सेप्टेम्बर (हि.स.)। नोएडामा सुनचाँदीमा लगानी गराएर ठूलो नाफा कमाउने प्रलोभन देखाउँदै साइबर अपराधीहरूले एक वृद्धबाट २७ लाख ५० हजार रुपियाँ ठगी गरेका छन्।
साइबर अपराधकी पुलिस उपायुक्त शैव्या गोयल अनुसार, ६५ वर्षीय केवल कृष्ण सहगलले बुधवार राति पुलिसमा उजुरी दिएका छन्। उनी सेक्टर–१२१ स्थित क्लियो काउन्टी सोसाइटीमा बस्दै आएका छन्। उनी अनुसार, अगस्त महिनामा अनलाइन मार्फत कथित निधि शर्मा नाम गरेकी महिलासँग उनको कुराकानी शुरु भयो।
महिलाले आफूले एउटा एप मार्फत सुनचाँदीको विश्वव्यापी कारोबार गर्ने गरेको बताइन्। उनले वृद्धलाई मीठा कुरा गर्दै विश्वासमा लिएर एउटा एपमा खाता खोल्न आग्रह गरिन्। दुवै मिलेर लगानी गर्ने र त्यसबाट हुने नाफा आधा–आधा बाँड्ने प्रस्ताव उनले राखेकी थिइन्।
महिलाको कुरामा विश्वास गरेका सहगलले १४ अगस्त २०२६ मा पहिलो पटक ५० हजार रुपियाँ लगानी गरे। त्यसपछि बढ़ी नाफाका लागि धेरै कारोबार देखाउन आवश्यक रहेको भन्दै थप रकम लगानी गर्न लगाइएको थियो। महिलाले बताए अनुसारको खातामा उनले पटक–पटक गरी कूल २७ लाख ५० हजार रुपियाँ स्थानान्तरण गरे।
एपमा सहगलले लगानी गरेको रकमको ठूलो नाफा देखाइएको थियो। तर रकम निकाल्न खोज्दा ३ सेप्टेम्बरमा उनलाई ३० वटा कारोबार पूरा नगरेसम्म पैसा निकाल्न नमिल्ने बताइयो। साथै रकम निकाल्न थप १२ प्रतिशत रकम जम्मा गर्नुपर्ने र त्यसका लागि १९ लाख रुपियाँ आवश्यक रहेको बताइयो।
त्यसपछि आफू ठगीमा परेको थाहा पाएपछि सहगलले साइबर अपराध पुलिस थानामा उजुरी दिएका छन्। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ।
/ बिशाल