
नयाँ दिल्ली, १० सेप्टेम्बर (हि.स.)। सर्वोच्च अदालतले साल १९९३ को मुम्बई शृंखलाबद्ध विस्फोट प्रकरणमा अबु सलेमको समयअगावै रिहाइको माग अस्वीकार गरेको छ। न्यायमूर्ति विक्रम नाथको अध्यक्षतामा रहेको पीठले यससम्बन्धी फैसला गरेको हो। अदालतले २७ जुलाईमा फैसला सुरक्षित राखेको थियो।
सुनवाइका क्रममा अबु सलेमका वकिल ऋषि मल्होत्राले जेलमा राम्रो आचरणका आधारमा पाएको सजाय छुट तथा विचाराधीन कैदीका रूपमा बिताएको अवधिलाई समेत २५ वर्षको सजायको गणनामा समावेश गर्नुपर्ने तर्क गरेका थिए। यी अवधि जोड्दा सलेमले २५ वर्षभन्दा बढ़ी अर्थात् लगभग २६ वर्ष सजाय भुक्तान गरिसकेको भन्दै उनलाई रिहा गर्नुपर्ने माग गरिएको थियो।
मल्होत्राले टाडा अदालतले पनि विचाराधीन हिरासतमा बिताएको अवधिको लाभ दिन निर्देश दिएको भए पनि जेल प्रशासनले त्यसलाई कार्यान्वयन नगरेको बताए।
यसअघि बम्बई उच्च अदालतले पनि अप्रेल २०२५ मा अबु सलेमको समयअगावै रिहाइ सम्बन्धी याचिका खारेज गरेको थियो। उच्च अदालतले भारतले उनलाई प्रत्यर्पण गर्ने क्रममा पोर्चुगललाई दिएको आश्वासन अनुसार २५ वर्षको अवधि नोभेम्बर २०३० मा पूरा हुने र राम्रो आचरणका आधारमा दिइने सजाय छुटबाट उक्त अवधि घटाउन नसकिने स्पष्ट गरेको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी