
सिलगढ़ी, 10 सेप्टेम्बर (हि.स.)। शहरमा यातायात नियन्त्रण तथा ट्राफिक व्यवस्थालाई अधिक प्रभावकारी बनाउने उद्देश्यले बिहीवार भक्तिनगर ट्राफिक गार्डको ट्राफिक बूथको शुभारम्भ गरियो। इन्दिरा गान्धी मैदानको छेउमा शहीद नगरको विश्वनाथ सिंह मोड़मा स्कूलका नानीहरूको हातबाट नयाँ रूपमा ट्राफिक बूथको उद्घाटन गरियो।
उद्घाटन समारोहमा डीसीपी ट्राफिक काजी शम्सुद्दीन अहमद, एसीपी ट्राफिक सुबीर दत्त, भक्तिनगर ट्राफिक गार्डका ओसी अमर्त्य चक्रवर्ती सहित ट्राफिक विभागका अन्य अधिकारीहरू उपस्थित थिए। कार्यक्रमको शुरूमा वरिष्ठ ट्राफिक पुलिस अधिकारीहरूलाई फूलगुच्छा प्रदान गरी सम्मानित गरियो। त्यसपछि नानीहरूले रिबन काटेर नयाँ ट्राफिक बूथको उद्घाटन गरे।
ट्राफिक विभाग अनुसार सिलगढ़ी शहरका ट्राफिक बूथहरूमा शौचालयको सुविधायुक्त यो पहिलो बूथ हो। यसबाट पुरूषसँगसँगै महिला ट्राफिक कर्मीहरूलाई पनि विशेष सुविधा प्राप्त हुनेछ। ट्राफिक विभागले आशा व्यक्त गरेको छ, नयाँ बूथ शुरू हुनाले सम्बन्धित क्षेत्रहरूमा यातायात नियन्त्रण तथा ट्राफिक प्रबन्धन अधिक व्यवस्थित एवं प्रभावकारी हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा