
गान्तोक, 11 सेप्टेम्बर (हि.स.)। सिक्किम सरकारको बागवानी विभागअन्तर्गत पुष्पखेती शाखाका पहलमा आज विभागीय परिसरमा उन्नत प्रजातिका सयपत्री फूलका बिरुवा वितरण कार्यक्रमको दोस्रो चरण सफलतापूर्वक सम्पन्न भएको छ। बागवानी विभाग तथा स्थानीय पुष्प कृषकहरूको संयुक्त पहलमा आयोजित उक्त कार्यक्रमको मुख्य उद्देश्य शहरी खेतीको विकास एवम् प्रवर्धन गर्नु रहेको थियो।
कार्यक्रमअन्तर्गत विभागले १०,००० भन्दा बडी हाइब्रिड सयपत्रीका विरुवाहरू वितरण गरेसँगै रुम्तेक, नाम्ली आधुनिक पुष्पखेती केन्द्र र असम लिङ्जे सरकारी फार्महरूमा उत्पादित क्रिस्यान्थेमम, टिस्यु कल्चर गरिएका सिम्बेडियम, क्याटेलिया र लिसेन्थस नामक अन्य फूलहरू वितरण गरिएको थियो। विभागले उक्त फूलहरूका बिरुवाहरू वितरण गर्दै न्यूनतम दर सुनिश्वित गरिएको बताइएको छ।
कृषक तथा कृषि क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले बागवानी विभागले सयपत्री फूलका कुल ७ हजार विरुवा वितरण गर्दै पहिलो चरणको कार्यक्रम गत ५ सेप्टेम्बर, २०२६ मा सम्पन्न गरेको जानकारी गराएको छ। यसका साथै आगामी हिउँद महिनामा हिउँदे सागसब्जीका बिउ तथा बिरुवासमेत न्यूनतम तथा अनुदानितपूर्ण दरमा वितरण गरिने विभागले जानकारी गराएका छन्।
कार्यक्रममा बागवानी विभागका सचिव छिरिङ थेन्डुप भोटिया, अतिरिक्त निर्देशक केसाङ लाचुङ्पा, अतिरिक्त निर्देशक पेमा छोडेन भोटिया, उपनिर्देशक डा. डिकी लामा तामाङ, एचडीओ रामकुमार सुब्बा, बागवानी निरीक्षक साङ्गे डोमा भोटिया, कर्मा मिङ्गुर भोटिया, सुकमन सुब्बा, चन्द्रकला शर्मालगायत विभागीय अधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल