लोअर साङ्मुमा ठूलो पैह्रोपछि तत्काल राहत तथा क्षति मूल्याङ्कन
लोअर साङ्मुमा ठूलो पैह्रोपछि तत्काल राहत तथा क्षति मूल्याङ्कन


नाम्ची, 11 सेप्टेम्बर (हि.स.)। राङगाङ-याङगाङ निर्वाचन क्षेत्रअन्तर्गत साङ्मु-राङ्के जीपीयूको लोअर साङ्मुमा १० सेप्टेम्बर, २०२६ दिउँसो लगभग ३ बजी भारी वर्षाका कारण ठूलो पैह्रो गएको छ। पैह्रोका कारण स्थानीय साने राईको आवासीय घरमा ठूलो क्षति पुगेको छ भने सान्चवीर राई (ताले घर) को भान्सा आंशिक रूपमा क्षतिग्रस्त भएको छ। थप भारी वर्षा भएको अवस्थामा उक्त घर पनि जोखिमयुक्त क्षेत्रमा पर्न सक्ने बताइएको छ।

घटनापछि सम्बन्धित अधिकारीहरूलाई तत्काल जानकारी गराई आवश्यक सावधानी तथा राहतका उपायहरू शुरु गरिएको छ। ११ सेप्टेम्बर, २०२६ मा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव (नाम्ची जिल्ला) बिष्णु शर्मा, मुख्यमन्त्रीका ओएसडी कर्म सुब्बा, कृषि विभागका ओएसडी एसबी राईलगायत अन्यहरूको एक संयुक्त टोलीले प्रभावित क्षेत्रको भ्रमण गरेको विज्ञप्तिमा बताइएको छ।

राभाङ्लाका एसडीएम तथा सम्बन्धित टोलीले क्षतिको मूल्याङ्कन गरेपछि तत्काल आवश्यक राहत तथा सुरक्षाका उपायहरू अपनाएको छ। सावधानीस्वरूप साने राईको परिवारलाई सोमबहादुर राईको घरमा सारिएको छ। उनीहरूको सुरक्षाका लागि त्यहाँ अस्थायी आवासको व्यवस्था गरिएको छ। सम्बन्धित अधिकारीहरूलाई प्रभावित क्षेत्रमा निरन्तर निगरानी राख्नसमेत निर्देशन दिइएको छ।

विपद् राहतसम्बन्धी निर्धारित मापदण्डअनुसार क्षतिग्रस्त आवासीय घरका लाभार्थी तथा आंशिक रूपमा क्षतिग्रस्त भान्साका लाभार्थीलाई अनुग्रह सहायता रकमसमेत वितरण गरिएको छ। घटनापछि प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल उक्त सहायता प्रदान गरिएको हो।

सम्बन्धित विभागहरूले अवस्थाको निरन्तर मूल्याङ्कन तथा प्रभावित क्षेत्रको नजिकबाट निगरानी गरिरहेका छन्। विशेषगरी थप वर्षाको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाइएको छ। परिस्थिति थप हस्तक्षेप आवश्यक पर्ने अवस्थामा तत्काल आवश्यक कदम चालिने जनाइएको छ। स्थानीय पञ्चायत, प्रशासन, सम्बन्धित विभाग, युवा तथा स्वयंसेवकहरू प्रभावित परिवारको सुरक्षा र कल्याण सुनिश्चित गर्न आपसी समन्वयमा कार्यरत रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande