
गान्तोक, 12 सेप्टेम्बर (हि.स.)। सिक्किमका व्यावसायिक धावक वीरबहादुर राईले मलेसियामा आयोजित अन्तरराष्ट्रिय ट्रेल दौड प्रतियोगिता ‘मलेसिया अल्ट्रा ट्रेल बाई यूटीएमबी’ मा ऐतिहासिक सफलता हासिल गरेका छन्। नाम्ची जिल्लाको सालघारी निवासी राईले २५ किलोमिटरको एमवाई२५ विधामा २ घण्टा २५ मिनेटको समयमा दौड पूरा गर्दै उपाधि जितेका हुन्।
यस सफलतासँगै वीरबहादुर राई २५ किलोमिटर विधामा यूटीएमबी सिरिजको पोडियम हासिल गर्ने पहिलो भारतीय बनेका छन्। मलेसियाको पेराक, ताइपिङमा आयोजित प्रतियोगितामा उनको उपलब्धिले सिक्किमको ट्रेल दौड समुदायलाई गौरवान्वित बनाएको छ।
मुख्यमन्त्री प्रेमसिंह तामाङले वीरबहादुर राईलाई यस ऐतिहासिक उपलब्धिका लागि हार्दिक बधाई दिएका छन्। उनले राईको सफलता व्यक्तिगत विजयमा मात्र सीमित नरही सिक्किमका लागि गौरवको क्षण रहेको तथा यसले युवा धावकहरूलाई प्रेरणा दिने बताएका छन्।
यसै विधामा दार्जिलिङका सोमबहादुर थामीले चौथो तथा हेमन्त लिम्बूले पाँचौँ स्थान हासिल गरेका छन्। मुख्यमन्त्री तामाङले दुवै धावकलाई पनि बधाई दिँदै उनीहरूको प्रदर्शनले सम्पूर्ण क्षेत्रको गौरव बढाएको बताएका छन्।
तीनै जना धावकले सिक्किम र दार्जिलिङमा आधारित यूटीएमबीमा पञ्जीकृत ‘गोर्खा ट्रेल रनर्स क्लब’ को प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता जनाएका थिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल