
देहरादून, १२ सेप्टेम्बर (हि.स.)। उत्तराखण्डका पूर्वमुख्यमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता हरीश रावतले आफ्ना पूर्व विशेष कार्याधिकारीविरुद्ध कथित नगद तथा गरगहना भेटिएको सम्बन्धमा समाचार सार्वजनिक भएपछि उत्तराखण्ड प्रदेश कांग्रेस समितिको कार्यकारिणी सदस्य र कांग्रेस कार्यसमितिको स्थायी आमन्त्रित सदस्य पदबाट हट्ने घोषणा गरेका छन्।
हरीश रावतले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा देहरादूनमा उनका निजी सहायकसँग ठूलो परिमाणमा नगद र गरगहना भेटिएको समाचार टेलिभिजनमा देखिएको बताएका छन्। उनले घटनाको वास्तविक तथ्य आगामी दिनमा सार्वजनिक हुने बताएका छन्। सम्बन्धित व्यक्ति जीना आफ्नो विशेष कार्याधिकारी रहेको र आफूले विभिन्न पदमा जिम्मेवारी सम्हालेका बेला उनले महत्वपूर्ण दायित्व निर्वाह गरेको रावतले बताए।
उनका अनुसार, जीना सज्जन, विनम्र र कामप्रति समर्पित व्यक्ति थिए। तर, ग्राम सेवकको भर्तीमा ओएमआर उत्तरपुस्तिकामा छेडछाड वा यस्तै कुनै गल्ती भएको प्रमाण फेला परेमा त्यस्तो कार्यका लागि आफू लज्जित हुने उनले बताए। यद्यपि, हाल आफूलाई उक्त आरोपमा विश्वास नरहेको उनले स्पष्ट पारे।
पूर्वमुख्यमन्त्री रावतले उत्तराखण्डको आगामी चुनाउमा धेरै कुरा दाउमा रहेको उल्लेख गर्दै कांग्रेस र उसका कार्यकर्ता भ्रष्टाचारविरुद्ध संघर्ष गरिरहेको बताए। यस्तो अवस्थामा आफू वा आफू सम्बद्ध कुनै व्यक्तिको गतिविधिका कारण पार्टीको संघर्ष कमजोर हुन नहुने उनको भनाइ छ।
रावतले आफू कुनै सरकारी पदमा नरहेकाले सरकारी पदबाट राजीनामा दिने प्रश्न नै नउठ्ने बताए। उनले आफू उत्तराखण्ड प्रदेश कांग्रेस समितिको कार्यकारिणी सदस्य र राष्ट्रियस्तरमा कांग्रेस कार्यसमितिको स्थायी आमन्त्रित सदस्य रहेको उल्लेख गर्दै पार्टीको संघर्षमा आफ्नो कारणले कुनै कमजोरी नआओस् भनेर यी दुवै पदबाट हट्न चाहेको बताए।
अधीनस्थ सेवा छनोट आयोगसँग जोडिएको विवादको उल्लेख गर्दै रावतले आयोग राज्यका युवाको भविष्यलाई ध्यानमा राखेर गठन गरिएको बताए। आफ्नो कार्यकालमा लोकसेवा आयोगलाई समयमै परीक्षा सञ्चालन गर्न बाध्य बनाइएको तथा विभिन्न क्षेत्रमा भर्ती बोर्ड गठन गरिएको उनले दाबी गरे।
रावतले आफ्नो करिब तीन वर्षको कार्यकालमा ४२ हजारभन्दा बढी सरकारी पदमा भर्ती भएको दाबी गरे। अधीनस्थ सेवा छनोट आयोगका अध्यक्षको नियुक्ति उनको विगतको सेवाअभिलेखका आधारमा गरिएको र उजुरी प्राप्त भएपछि आफूले सम्बन्धित व्यक्तिलाई पदबाट हटाएको वा राजीनामा मागेको उनले बताए।
उनले कुनै व्यक्तिले भविष्यमा कस्तो व्यवहार गर्नेछ भन्ने कुरा पहिल्यै अनुमान गर्न नसकिने बताए। नियुक्ति वा परीक्षाको प्रक्रियामा आफूबाट कुनै ‘निर्णयगत त्रुटि’ भएको भए उत्तराखण्डका जनतासँग त्यसका लागि क्षमा माग्ने उनले बताए।
रावतले नियुक्ति र परीक्षामा हुने अनियमितता राज्यको भावी पुस्ताको भविष्यसँग खेलवाड भएको बताए। आफूबाट जानेर वा नजानेर त्यस्तो कुनै कार्य भएको र त्यसबाट राज्यका युवाको भविष्यमा प्रतिकूल प्रभाव परेको भए त्यसका लागि आफू दण्डको भागीदार बन्न तयार रहेको उनले बताए।
सार्वजनिक अपील गर्दै रावतले नियुक्तिका विषयमा आफ्नो संलग्नता वा हस्तक्षेपको कुनै प्रमाण कसैसँग भए केन्द्रिय अनुसन्धान ब्युरो, प्रवर्तन निर्देशनालय वा राज्य पुलिसलाई उपलब्ध गराउन आग्रह गरे। आफूबाट कुनै गल्ती भएको प्रमाणित भए कानुनअनुसार दण्डित गर्नुपर्ने उनले बताए।
आफ्नो वक्तव्यमा रावतले पूर्वमुख्यमन्त्री मेजर जनरल भुवनचन्द्र खण्डुरीको पनि उल्लेख गरेका छन्। अधीनस्थ सेवा छनोट आयोगका अध्यक्षको नियुक्तिका विषयमा आफूले खण्डुरीसँग सल्लाह लिएको र सम्बन्धित व्यक्तिको विगतको सेवाअभिलेखका आधारमा नियुक्ति गरेको उनले बताए।
रावतले सार्वजनिक जीवनमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने प्रत्येक व्यक्ति प्रलोभनबाट टाढा रहनुपर्ने तथा नियुक्ति र परीक्षाको पारदर्शितामा कुनै सम्झौता गर्न नहुनेमा जोड दिए।
/ बिशाल