
सना, १२ सेप्टेम्बर (हि.स.)। यमनमा साउदी अरबविरुद्धको सैन्य तनाउ बढ्दै गएको छ। यमनी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल याह्या सरीले सेनाले हुदैदाह र ताइज प्रान्तमा करिब ५ हजार ४०० वर्ग किलोमिटर भूभाग कब्जा गरेको तथा सयौँ साउदी समर्थित लडाकुलाई मारेको वा घाइते बनाएको दाबी गरेका छन्। उनले बाब अल-मन्दाबतर्फ अघि बढ्ने र साउदी सैन्य ठेगानाविरुद्ध आक्रमण तीव्र पार्ने चेताउनीसमेत दिएका छन्।
इरानी सरकारको अन्तरराष्ट्रिय समाचार सञ्जाल प्रेस टीभीका अनुसार, शुक्रबार टेलिभिजनमार्फत दिएको वक्तव्यमा सरीले यमन सेना र ‘पपुलर कमिटी’ सँग सम्बन्धित लडाकुले दुवै प्रान्तका छ जिल्लाबाट साउदी समर्थित सेनालाई हटाएको बताए। उनका अनुसार, अभियानका क्रममा साउदी समर्थित लडाकुका सात डिभिजन र ३८ ब्रिगेड पराजित भएका छन्।
सरीका अनुसार, युद्धमा सयौँ लडाकु मारिएका वा घाइते भएका छन् भने अन्य केहीलाई नियन्त्रणमा लिइएको छ। उनले साउदी समर्थित सेनाले सञ्चालन गरेका हिरासत केन्द्रमा राखिएका कैयौँ कैदीलाई पनि सैन्य बलले मुक्त गरेको दाबी गरेका छन्।
यमन सेनाका प्रवक्ताले आफ्ना वायु रक्षा एकाइले ३२ वटा कारबाही सञ्चालन गर्दै साउदी विमानको प्रवेश रोक्ने क्रममा नौ वटा विमान खसालेको दाबी गरेका छन्। यद्यपि, यी दाबीको स्वतन्त्र पुष्टि तत्काल हुन सकेको छैन।
सरीले लाल सागरमा जहाज आवागमनका सम्बन्धमा यमनी सेनाले यसअघि घोषणा गरेको नीतिमा कायम रहेको बताएका छन्। उनका अनुसार, साउदी अरबबाट आउने जहाजबाहेक अन्य जहाजलाई लाल सागर हुँदै आवतजावत गर्न अनुमति दिइनेछ।
उनले यसलाई ‘नाकाबन्दीको बदलामा नाकाबन्दी’ को नीति भन्दै यमनविरुद्ध सैन्य कारबाही र नाकाबन्दी जारी रहेसम्म साउदी सैन्य अखडालाई निशाना बनाइरहने चेताउनी दिएका छन्।
यमनमा सन् २०१५ मा साउदी अरब नेतृत्वको गठबन्धनले यमन सरकारको समर्थनमा सैन्य अभियान शुरु गरेपछि द्वन्द्व तीव्र भएको थियो। यस संघर्षमा ठूलो संख्यामा मानिसको मृत्यु भएको छ भने यमन लामो समयदेखि गम्भीर मानवीय संकटबाट गुज्रिरहेको छ।
यमन सेनाका प्रवक्ताको पछिल्लो दाबीबीच क्षेत्रमा तनाउ थप बढ्ने आशंका देखिएको छ। हुदैदाह र बाब अल-मन्दाब जलडमरूमध्यको क्षेत्र रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ, किनभने लाल सागर हुँदै हुने अन्तरराष्ट्रिय समुद्री व्यापारको यो प्रमुख मार्गमध्ये एक हो।
हिन्दुस्थान समाचार / बिशाल