
- सिक्किमका विद्यार्थीले आफ्नै भूमिमा चिकित्सा शिक्षा हासिल गर्न अवसर पाउने: मुख्यमन्त्री
गान्तोक, १२ सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले हेलेन लेप्चा सिक्किम सरकारी चिकित्सा महाविद्यालयका नवनियुक्त संकाय सदस्यहरूसँग भेट गरेका छन्। भेटका क्रममा उनले संकाय सदस्यहरूसॅंग महत्वपूर्ण सुझाउ सुन्दै उनीहरूका चासो तथा समस्याबारे जानकारी लिएका छन्।
मुख्यमन्त्री तामाङले नवनियुक्त संकाय सदस्यहरूसँग भेट गर्न पाउनु अत्यन्त खुशी र सम्मानको क्षण भएको आज सामाजिक सञ्जाल पोस्टमा बताएका छन्। संकाय सदस्यहरूले प्रस्तुत गरेका बहुमूल्य सुझाउ र उनीहरूका चासोका विषय बुझ्न पाउँदा आफू निकै उत्साहित भएको उनले उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले हेलेन लेप्चा सिक्किम सरकारी चिकित्सा महाविद्यालयको स्थापना सिक्किमका लागि ऐतिहासिक शुरुआत रहेको बताए। पहिलोपटक सिक्किमका विद्यार्थीले आफ्नै भूमिमा समर्पित प्राध्यापकहरूको मार्गदर्शनमा चिकित्सा शिक्षा हासिल गर्ने अवसर पाउने उनले बताए। यसका लागि सरकार, समाज र स्थानीय समुदायको सहयोग रहने उनको भनाइ छ।
विशेषगरी आर्थिक रूपमा विपन्न विद्यार्थीका लागि यो संस्था केवल चिकित्सा महाविद्यालय मात्र नभई सपना पूरा गर्ने, सम्मानका साथ अघि बढ्ने र नयाँ अवसर प्राप्त गर्ने माध्यम बन्ने मुख्यमन्त्रीले बताए। सामूहिक प्रयास, समर्पण र निरन्तर मेहनतका साथ मेडिकल कलेजलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री तामाङले यस संस्थाले सिक्किमलाई अग्रणी शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले महाविद्यालय, समर्पित प्राध्यापक तथा सबै विद्यार्थीको आगामी शैक्षिक यात्रा सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
उल्लेखनीय छ, हेलेन लेप्चा सिक्किम सरकारी चिकित्सा महाविद्यालय सिक्किमको पहिलो सरकारी चिकित्सा महाविद्यालय हो। चिकित्सा शिक्षा विस्तार गर्ने र राज्यमा स्वास्थ्य सेवा थप सुदृढ बनाउने उद्देश्यले भारत सरकार र सिक्किम सरकारको संयुक्त पहलमा यसको स्थापना गरिएको हो।
राजधानीको सोच्यागाङ, सिच्छेमा स्थित यस चिकित्सा महाविद्यालयको नाम सिक्किमकी स्वतन्त्रता सेनानी हेलेन लेप्चाको सम्मानमा राखिएको हो। उनलाई सावित्री देवीका नामले पनि चिनिन्थ्यो। यस संस्थानको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमको ५०औँ राज्य स्थापना वर्षको समापन समारोहका अवसरमा गरेको थियो।
यस चिकित्सा महाविद्यालयमा यसै महिनादेखि पहिलोपटक एमबीबीएसको अध्ययन शुरु भइरहेको छ। यहाँ प्रत्येक वर्ष १०० जना विद्यार्थीलाई एमबीबीएस अध्ययनको अवसर प्रदान गरिनेछ। यस महाविद्यालयको सञ्चालनसँगै सिक्किमका विद्यार्थीले आफ्नै राज्यमा चिकित्सा शिक्षा हासिल गर्ने अवसर पाउनेछन्।
हिन्दुस्थान समाचार / बिशाल