

सागर, १३ सेप्टेम्बर (हि.स.)। मध्य प्रदेशको सागर जिल्लाको बण्डा विषाक्त मदिरा काण्डमा फरार रहेका ३० हजार रुपियाँका इनामी आरोपी शिवाञ्जय राजपूतलाई पुलिसले आइतबार बिहानै भिडन्तपछि पक्राउ गरेको छ। बहरोल थाना क्षेत्रअन्तर्गत कठुआ नालानजिकैको जंगलमा भएको कारबाहीका क्रममा आरोपीले पुलिस टोलीमाथि तीन राउन्ड गोली चलाएका थिए। जवाफी कारबाहीमा उनको खुट्टामा गोली लागेको छ। घाइते आरोपीलाई उपचारका लागि अस्पताल लगिएको छ।
पुलिसका अनुसार, आइतबार बिहान सूचना प्राप्त भएको थियो कि बण्डा मदिरा प्रकरणमा फरार शिवाञ्जय राजपूत (२१) कठुआ नालानजिकैको जंगलमा छन् र धामोनी-बहरोल मार्ग हुँदै आफ्नो गाउँ छापरीतर्फ जान सक्छन्। सूचनापछि बांदरी थाना प्रभारी सत्येन्द्र सिंह र बहरोल थाना प्रभारी धर्मेन्द्र सिंह पुलिस टोलीसहित घटनास्थल पुगे। जंगल तथा छेउछाउको क्षेत्रमा घेराबन्दी गरी खोजी अभियान शुरु गरिएको थियो।
पुलिसको दाबीअनुसार, खोजीका क्रममा टोलीको सामना शिवाञ्जयसँग भयो। पुलिसलाई देख्नेबित्तिकै उनले गोली चलाउन शुरु गरे। आरोपीले तीन राउन्ड गोली चलाएपछि पुलिसले आत्मरक्षाका लागि दुई राउन्ड जवाफी गोली चलाएको थियो। त्यस क्रममा एउटा गोली आरोपीको खुट्टामा लागेको पुलिसले जनाएको छ। उनलाई घटनास्थलबाटै पक्राउ गरी उपचारका लागि अस्पताल पुर्याइएको छ।
कट्टा, गोली र मोटरसाइकल बरामद
पुलिसले आरोपीको कब्जाबाट ३१५ बोरको देशी कट्टा, तीनवटा जिउँदा गोली, तीनवटा खाली कारतूस, मोबाइल फोन र मोटरसाइकल बरामद गरेको छ। पुलिसका अनुसार, बण्डाको छापरी गाउँ निवासी शिवाञ्जय मदिरा काण्डका मुख्य आरोपी चन्द्रभान सिंह राजपूत उर्फ चन्दूका आफन्त हुन्। यस अवैध मदिरा आपूर्ति सञ्जालमा उनको महत्वपूर्ण भूमिका रहेको पुलिसको भनाइ छ। पुलिसले उनको पक्राउका लागि ३० हजार रुपियाँ पुरस्कार घोषणा गरेको थियो। शिवाञ्जयविरुद्ध यसअघि नै तीनवटा आपराधिक मुद्दा दर्ता रहेको बताइएको छ।
यस मामिलामा दोस्रो पुलिस एनकाउण्टर
बण्डा विषाक्त मदिरा काण्डमा फरार आरोपीलाई भिडन्तपछि पक्राउ गरिएको यो दोस्रो घटना हो। यसअघि रवि लखेरालाई पनि पुलिसले भिडन्तपछि पक्राउ गरेको थियो। यस प्रकरणसँग सम्बन्धित अन्य आरोपीको खोजी तथा अवैध मदिरा सञ्जालविरुद्ध कारबाही जारी रहेको पुलिसले जनाएको छ।
स्थानीयस्तरमा सागरमा विषाक्त मदिरा सेवनका कारण हालसम्म ३२ जनाको मृत्यु भएको चर्चा छ। यद्यपि प्रशासनले हालसम्म १८ जनाको मृत्यु भएको मात्र पुष्टि गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी