

सुरेन्द्रनगर, १६ सेप्टेम्बर (हि.स.)। गुजरातको प्रसिद्ध तरणेतर मेलामा यसपटक लोक संस्कृति र परम्परासँगै एउटा अनौठो प्रतियोगिताले पनि दर्शकको ध्यान तानेको छ। ग्रामीण ओलम्पिकअन्तर्गत आयोजित लड्डु खाने प्रतियोगितामा विन्छिया तहसीलअन्तर्गत ओरी गाउँका बलवन्त राघवाणीले ३० मिनेटमा २८ वटा लड्डु खाएर प्रथम स्थान हासिल गरेका छन्।
लोक परम्परा, संस्कृति र ग्रामीण जीवनको झल्को दिने तरणेतर मेला हरेक वर्ष आयोजना हुँदै आएको छ। यसै क्रममा आयोजित लड्डु खाने प्रतियोगिताले मेलामा उपस्थित दर्शकलाई आकर्षित गरेको थियो। प्रतियोगिता शुरु भएलगत्तै दर्शकको ध्यान सहभागीहरूमाथि केन्द्रित भएको थियो भने केही समयमै ताली र उत्साहले वातावरण गुञ्जायमान बन्यो।
प्रतियोगितामा २५ देखि ७५ वर्ष उमेर समूहका २८ जनाले सहभागिता जनाएका थिए। प्रतियोगिताको नियमअनुसार ३० मिनेटभित्र दालसॅंग बेसनबाट बनाइएका गुलिया लड्डु खानुपर्ने थियो। समय बित्दै जाँदा प्रतियोगिता सहज नभई धैर्य र गतिसँगै सहनशीलताको परीक्षा बन्दै गएको थियो।
शुरुआतमा सबै सहभागीले तीव्र गतिमा लड्डु खान थाले। पहिलो १५ मिनेटमा अधिकांश सहभागीले करिब १५ वटा लड्डु खाइसकेका थिए। त्यसपछि क्रमशः सहभागीहरू प्रतियोगिताबाट बाहिरिन थाले। अन्तिम चरणमा केही सहभागीबीच कडा प्रतिस्पर्धा देखियो। पाँच सहभागीबीच प्रथम स्थानका लागि प्रतिस्पर्धा हुँदा कसैले २२, कसैले २४ र कसैले २६ लड्डुको आँकडा पार गरे। प्रत्येक थप लड्डुसँगै दर्शकको उत्साह पनि बढ्दै गयो।
३० मिनेट पूरा हुने समय नजिकिँदै जाँदा प्रतियोगिताको रोमाञ्च उत्कर्षमा पुगेको थियो। अन्ततः बलवन्त राघवाणीले २८ वटा लड्डु खाएर प्रथम स्थान हासिल गरे। राघवाणीका लागि यो सफलता पहिलो भने होइन। उनले गत वर्ष पनि यही प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए। लगातार दोस्रोपटक विजेता बनेर उनले आफ्नो प्रभाव कायम राखेका छन्। प्रतियोगिताको नियमअनुसार एक जना मात्र विजेता घोषणा गरिएको थियो। २८ वटा लड्डु खाने राघवाणीलाई २ हजार रुपियाँ नगद पुरस्कारसहित विजेता घोषणा गरिएको हो।
यस अवसरमा जिल्लापाल जीएच सोलंकीले ठूलो संख्यामा दर्शकको उपस्थिति र उनीहरूको उत्साहले सहभागीको मनोबलसमेत बढाएको बताए। तरणेतर मेला मनोरञ्जनको माध्यम मात्र नभई गुजरातको सांस्कृतिक सम्पदालाई जीवन्त राख्ने महत्वपूर्ण आयोजना भएको उनले बताए। यसले मानिसलाई आनन्द, उत्साह र आपसी भाइचारासँग जोड्ने काम गर्ने उनको भनाइ थियो।
कार्यक्रममा सहायक पुलिस अधीक्षक वैदिका बिहानी, प्रान्त अधिकारी केएन काचा, जिल्ला खेल विकास अधिकारी पार्थ चौहानलगायत अन्य अधिकारीको उपस्थिति थियो। अधिकारीहरूले विजेता बलवन्त राघवाणीलाई पुरस्कार प्रदान गर्दै उनको उत्साहवर्धन गरे।
तरणेतर मेलामा एकातिर लोक संस्कृति र परम्पराको झल्को देख्न पाइन्छ भने अर्कोतिर यस्ता ग्रामीण प्रतियोगिताले मेलालाई सर्वसाधारणसँग अझ नजिक जोड्ने काम गर्छन्। ३० मिनेटमा २८ लड्डु खाएर लगातार दोस्रोपटक विजेता बनेका बलवन्त राघवाणीको सफलता यसपटक मेलाको चर्चित प्रसङ्ग बनेको छ।
हिन्दुस्थान समाचार / बिशाल