

नयाँ दिल्ली/बेङलुरु, १६ सेप्टेम्बर (हि.स.)। केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमणले बुधबार कर नीतिमाथिको छलफल सीमित क्षेत्रगत विषयभन्दा माथि उठेर ठूला राष्ट्रिय हितलाई प्राथमिकता दिने खालको हुनुपर्ने बताएकी छन्।
बेङलुरुमा अन्तरराष्ट्रिय कर अनुसन्धान तथा विश्लेषण प्रतिष्ठान (आईटीआरएएफ) द्वारा आयोजित ‘नयाँ युगको कर व्यवस्था’ विषयक आठौँ अन्तरराष्ट्रिय कर सम्मेलनलाई सम्बोधन गर्दै उनले करसम्बन्धी प्रस्तावमा छुट वा दर कटौतीमा मात्र केन्द्रित हुनुभन्दा दीर्घकालीन विकासका लक्ष्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
सीतारमणले शिक्षाविद्, अनुसन्धानकर्ता तथा नीतिगत अनुसन्धान संस्थाहरूलाई स्वतन्त्र कर नीति अनुसन्धानलाई सार्वजनिक बहसको नियमित हिस्सा बनाउन आग्रह गरिन्। यसबाट अनुसन्धानको समीक्षा, प्रश्न तथा आवश्यक सुधार गर्न सकिने उनको भनाइ थियो।
केन्द्रिय वित्तमन्त्रीले कर नीतिसम्बन्धी स्वतन्त्र अनुसन्धान सार्वजनिक विमर्शको हिस्सा बन्नुपर्ने बताइन्। कर क्षेत्रका व्यवसायी तथा विशेषज्ञहरूले क्षेत्रगत हितभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने उनले उल्लेख गरिन्।
भारतमा कर व्यवस्थाका क्षेत्रमा उच्चस्तरीय व्यवसायी तथा विशेषज्ञहरू रहे पनि उनीहरूको विशेषज्ञतालाई एकीकृत गरी नीतिगत विकल्प निर्माणमा योगदान पुर्याउन बलियो संस्थागत मञ्चको आवश्यकता रहेको सीतारमणले बताइन्।
उनले आईटीआरएएफलाई स्वतन्त्र कर नीति अनुसन्धानलाई अझ प्रभावकारी रूपमा अघि ल्याउँदै त्यसलाई नीति निर्माण तथा सार्वजनिक विमर्शसँग प्रत्यक्ष रूपमा जोड्न आग्रह गरिन्। सरकारसमक्ष पेस गरिने करसम्बन्धी प्रस्तावमा करको दर घटाउने, छुट वा सहुलियत माग्नुभन्दा देशहितलाई सर्वोच्च प्राथमिकता दिनुपर्नेमा उनले जोड दिइन्।
वित्तमन्त्रीले आफ्नो मन्त्रालयले गर्दै आएको बजेटपूर्व छलफलको प्रसङ्ग उल्लेख गर्दै यस्ता छलफलबाट ‘विकसित भारत-२०४७’ को लक्ष्यतर्फ अघि बढ्दै गर्दा आगामी दुई दशकमा भारतको कर व्यवस्था कस्तो हुनुपर्छ भन्ने जस्ता महत्वपूर्ण प्रश्न उठ्नुपर्ने बताइन्।
उनले सबै पक्षलाई समेट्ने प्रभावकारी कर अनुसन्धानमा जोड दिँदै त्यसले नीतिको प्रभाव मापन गर्नुपर्ने, लाभ-हानिबीचको सन्तुलन बुझ्नुपर्ने, सरकारी राजस्वमा हुने प्रत्येक कमीको व्यावहारिक विकल्प सुझाउनुपर्ने तथा प्रभावकारी कर नीति निर्माणका लागि सरकारलाई आवश्यक विकल्प तयार गर्न सहयोग गर्नुपर्ने बताइन्।
हिन्दुस्थान समाचार / बिशाल