भाषा संग्रामी बुद्धिमान प्रधान ‘बमप’ को स्मरणमा श्रद्धञ्जली कार्यक्रमसहित अन्तिम संस्कार सम्पन्न
भाषा संग्रामी बुद्धिमान प्रधान ‘बमप’ को नाममा श्रध्दाञ्जली कार्यक्रमसहित अन्तिम संस्कार सम्पन्न


खरसाङ, १९ सेप्टेम्बर (हि.स.)। नेपाली भाषा मान्यता आन्दोलनका एक योद्धा एवं भारतीय गोर्खाहरुका एक स्तम्भ बुद्धिमान प्रधान ‘बमप’ को स्मरणमा आज एक श्रद्धाञ्जली कार्यक्रमसहित अन्तिम संस्कार सम्पन्न गरिएको छ।

भाषा संग्रामी बुद्धिमान प्रधान 'बमप' को अन्तिम संस्कार अघि स्थानीय सन्त मेरिजको ग्राम सेवा समिति भवनमा एक श्रद्धञ्जली कार्यक्रम गरिएको थियो। ग्राम सेवा समिति सन्त मेरिजका अध्यक्ष रमेश थापा, सचिव बिराज थापा, भारतीय गोर्खा परिसंघका डम्बरमणि प्रधान, गोर्खा जनपुस्तकालय खरसाङका उपाध्यक्ष प्रकाश प्रधान र दार्जिलिङबाट प्राध्यापक डा राजकुमार छेत्रीले भाषा संग्रामी बुद्धिमान प्रधान 'बमप' विषयमा वक्तव्य राख्दै उनको योगदान र उनले गरेका विभिन्न कार्यहरु विषयमा जानकारी गराए।

यस अवसरमा उपस्थित विभिन्न संघ संस्था र समाजका प्रतिनिधिहरु साथै व्यक्ति विशेषले भाषा संग्रामीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि गोथल्स साइड छेउ अन्तिम संस्कार सम्पन्न गरियो। भाषा संग्रामी बुद्धिमान प्रधान 'बमप' को निधन शुक्रवार बिहान 9 बजीतिर खरसाङको सन्त मेरिजस्थित निजी बासस्थानमा भएको थियो। उनी विगत केही समयदेखि बिरामी अवस्थामा थिए। उनी 97 वर्ष पुगेका थिए। उनको जन्म खरसाङको सिंगेल चियाबारीमा 1930 सालमा भएको थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande