
सोनादा, १९ सेप्टेम्बर (हि.स.)। साहित्यकार मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान सोनादाद्वारा सोनादामा आज आयोजना भएको एक कार्यक्रमबीच भारतीय नेपाली नाट्य तथा रङ्गमञ्च क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएकी विशिष्ट नाट्य कलाकार मरियममित लेप्चा राईलाई 'मनबहादुर गुरुङ स्मृति सम्मान 2026 सम्मान' ले सम्मानित गरिएको छ। त्यसरी नै युवा कलाकार समीर शर्मालाई ‘उदयमान युवा कलाकार सम्मान 2026’ द्वारा सम्मानित गरिएको छ।
सम्मानित व्यक्तित्वहरूलाई कार्यक्रमका सभाध्यक्ष डा योगेस खाती, प्रमुख अतिथि डा जीवन नामदुङ र अन्य अतिथिहरुका बाहुलीद्वारा खदार्पणसहित शल ओढाएर साथै स्मृति चिन्ह र सम्मान पत्रद्वारा सम्मान जनाइयो।
वरिष्ठ नाट्य कलाकार मरियममित लेप्चा सन् 1960 को दशकदेखि नेपाली नाट्य क्षेत्रमा एक विशिष्ट कलाकारका रूपमा परिचित रहँदै आएकी छन्। उनले नेपाली नाटक, चलचित्र, टेलिचलचित्र, गीतिनाटक आदिमा अनेकौं भूमिका कुशलतापूर्वक निर्वाह गरिसकेकी छन्।
उनी नाट्य कलाकारका साथै कुशल नृत्य तथा लोकनृत्य कलाकारका रूपमा समेत परिचित छन्। भारतीय नेपाली नाट्य तथा लोकनृत्य क्षेत्रमा छ दशकभन्दा लामो समयदेखि उनले पुर्याउँदै आएका विविध योगदानको कदर गर्दै मनबहादुर गुरुङ स्मृति प्रतिष्ठानले ‘मनबहादुर गुरुङ स्मृति सम्मान 2026’ अर्पण गरेको हो।
त्यसरी नै युवा कलाकार समीर शर्मा नेपाली नाटक, चलचित्र तथा संगीत क्षेत्रमा सक्रिय रहँदै आएका छन्। नेपाली चलचित्र तथा नाटकका साथै विभिन्न म्युजिक भिडियोहरूमा समेत आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका शर्माले हिन्दी, बङ्गालीलगायत विभिन्न भाषाका चलचित्र तथा वृत्तचित्रमा समेत अभिनय गरेका छन्।
कार्यक्रममा कला, साहित्य, नाटक, पत्रकारिता अनि अन्य विभिन्न विधामा कार्य गर्दै आएका व्यक्ति विशेषहरु क्रमैले नाटककार एवं दार्जिलिङ टेलिभिजनका निर्देशक आदित्य राया, वरिष्ठ पत्रकार सञ्जय प्रधान, वरिष्ठ कलाकार मेनुका प्रधान, डा जीवन नामदुङ, च्याट बक्स सोनादा, निश्चल ब्याम्बो होम स्टे, स्कट मिशन स्कूल, फोटोग्राफर जोसवालाई पनि सम्मान जनाइएको छ।
हिन्दुस्थान समाचार / हनोक