
खरसाङ, १९ सेप्टेम्बर (हि.स.)। खरसाङ महकुमा अन्तर्गत सिटोङको एउटा होमस्टेमा बारबीक्यू गर्ने क्रममा आगलागीबाट पर्यटक घाइते भएको घटनाको सम्बन्धमा पुलिसले मालिकसहित चारजनालाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिहरूलाई शनिवार खरसाङ अदालतमा पेश गरियो भने अदालतले उनीहरूलाई जमानत दिन अस्वीकार गरेको छ। उनीहरूसॅंग थप सोधपुछका लागि चार दिनको पुलिस हिरासतमा पठाइको जानकारी प्राप्त भएको छ।
यो घटना गत 13 सेप्टेम्बरमा भएको हो, जब नवविवाहित जोडी सौविक दास र उनकी पत्नी निकिता साहा (दास) उत्तर दिनाजपुर जिल्लाको चोपडाबाट हनिमुन मनाउन सिटोङको एक होम स्टेमा आएका थिए। कर्मचारीले बारबेक्यू गर्ने क्रममा निकिता आगोको चपेटमा परेर गम्भीर घाइते भएकी थिइन्।
घटनापछि निकितालाई उपचारको लागि सिलगढीको एक निजी अस्पताल लगियो, जहाँ उनी हाल उपचाराधीन अवस्थामा छिन्। उनका पति सौविक दासले खरसाङ पुलिस थानामा घटनाको बारेमा एफआईआर दर्ता गरेका थिए। उनले होमस्टेमा आगो निभाउने उपकरण र अन्य आपतकालीन व्यवस्थाको अभाव रहेको र कर्मचारीहरूले तुरुन्तै सहयोग नगरेको आरोप लगाएका छन्।
पक्राउ परेका चार जनामा होमस्टेका कर्मचारी नसिरुद्दीन, दिपेन लामा, नेहाल ऐरन र पवन कुमार अग्रवाल सामेल छन्। खरसाङ अदालतका पीपी सरोज सिन्हाले पत्रकारहरुसित कुराकानी गर्दै भने, पर्यटक सौविक दासले दायर गरेको उजुरीको सम्बन्धमा खरसाङ थानाका पुलिसले चारजनालाई पक्राउ गरेर अदालतमा पेश गरेको थियो। अदालतले आरोपीहरूको जमानत निवेदन अस्वीकार गर्दै थप अनुसन्धानका लागि चारैजनालाई चार दिनको पुलिस हिरासतमा पठाएको छ।
हिन्दुस्थान समाचार / हनोक