
गान्तोक, 02 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले ग्लेसियल लेक आउटबर्स्ट फ्लड (ग्लोफ) का कारण प्रभावित तुमिन लिङ्गी निर्वाचन क्षेत्रको लोअर कम्बल वार्डका परिवारहरूले लामो समयदेखि भोग्दै आएको समस्यालाई गम्भीरतापूर्वक लिएको छ। २०२३ को विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा रहेको भाजपा सिक्किमले बताएको छ।
प्रशासन तथा राज्य सरकारबाट आफ्ना समस्याहरूको समाधानका लागि अपेक्षित पहल नभएको भन्दै स्थानीय बासिन्दाबाट पटक-पटक गुनासो आएपछि भाजपा सिक्किमका प्रदेश अध्यक्ष डीआर थापाको नेतृत्वमा पार्टीको एक उच्चस्तरीय प्रतिनिधिमण्डलले आज तुमिन-लिङ्गी निर्वाचन क्षेत्रअन्तर्गत लोअर कम्बलको प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्थाको निरीक्षण गऱ्यो।
भेटका क्रममा प्रतिनिधिमण्डलले ग्लोफका कारण केही परिवारका घर, कृषि जमिन तथा अन्य सम्पत्तिमा व्यापक क्षति पुगेको जानकारी पाएको बताइएको छ। प्रभावित परिवारहरूले सम्बन्धित निकायसमक्ष पटक-पटक निवेदन तथा आग्रह गरे पनि आफ्ना गुनासो अझै समाधान नभएको र पर्याप्त पुनर्स्थापना तथा सहयोग नपाएको गुनासो गरेका छन्।
प्रभावित क्षेत्रको अवस्थाले आपदापछिको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यक्रम कसरी कार्यान्वयन भइरहेका छन् भन्ने विषयमा गम्भीर प्रश्न खडा गरेको भाजपा सिक्किमले जनाएको छ। ग्लोफ आपदा भएको वर्षौं बितिसक्दा पनि परिवारहरू क्षतिग्रस्त जमिन र घरसँगै संघर्ष गरिरहनु दुःखद रहेको पार्टीको भनाइ छ।
भाजपा सिक्किमले आपदाबाट प्रभावित नागरिकहरूलाई आफ्नो समस्यासँग आफैं जुध्न बाध्य पार्नु नहुने बताएको छ। राहत र पुनर्स्थापना केवल प्रशासनिक प्रक्रिया नभई मानव सम्मान, न्याय तथा नागरिकप्रति सरकारको जिम्मेवारीसँग जोडिएको विषय रहेको पार्टीले जनाएको छ।
भाजपाले सिक्किममा आपदा प्रबन्धन तथा पुनःप्राप्तिका लागि भारत सरकारबाट प्रदान गरिएको महत्वपूर्ण सहयोग र समर्थनलाई पनि स्वीकार गरेको छ। यस्तो सहयोगबाट प्राप्त हुने लाभ वास्तविक रूपमा प्रभावित मानिससम्म पारदर्शी, समयमै र जवाफदेही ढंगले पुग्नुपर्नेमा पार्टीले जोड दिएको छ।
स्थितिको गम्भीरतालाई ध्यानमा राख्दै भाजपा सिक्किमले यो विषयलाई उपयुक्त उच्चस्तरीय निकायसमक्ष उठाउने र आवश्यक हस्तक्षेपका लागि आग्रह गर्ने निर्णय गरेको जनाएको छ। प्रभावित परिवारका गुनासोको उचित छानबिन गरी उनीहरूले न्याय पाउने वातावरण सुनिश्चित गर्न पहल गरिने पार्टीले बताएको छ।
भाजपा सिक्किमले लोअर कम्बलका जनताको साथमा आफू निरन्तर उभिने प्रतिबद्धता व्यक्त गर्दै प्रभावित परिवारका पुनर्स्थापना, क्षतिग्रस्त सम्पत्ति तथा जीविकोपार्जनसँग सम्बन्धित वास्तविक समस्याको उचित समाधान नभएसम्म विषयलाई निरन्तर उठाइरहने जनाएको छ।
हिन्दुस्थान समाचार / बिशाल