
गेजिङ, 02 सेप्टेम्बर (हि.स.)। गेजिङका जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्पाले आज गेजिङ जिल्लाअन्तर्गत सिङ्गलिताम र रिम्बीका पैह्रो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। उनले प्रभावित क्षेत्रको वास्तविक अवस्थाको मूल्याङ्कन गर्नुका साथै तत्काल राहत, सुरक्षा तथा पुनःस्थापनाका उपायहरूको समीक्षा गरे।
जिल्लापालसँग निरीक्षण टोलीमा गेजिङका एएसपी सोनाम वाङ्दी, विद्युत् विभाग र आपदा प्रबन्धनका अधिकारीहरू, एसएसबीका अधिकारीहरू, स्थानीय जीपीयूका प्रतिनिधिहरू आदि उपस्थित थिए।
निरीक्षणका क्रममा जिल्लापालले पैह्रोबाट भएको क्षतिको अवस्थाबारे मूल्याङ्कन गर्दै सम्बन्धित विभागहरूले गरिरहेका तयारी तथा प्रतिकार्य उपायहरूको समीक्षा गरे। उनले प्रभावित तथा जोखिममा रहेका परिवारका लागि आवश्यक सबै सुरक्षा तथा राहतका उपाय तत्काल सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिए।
विशेषगरी विद्युत् आपूर्ति अवरुद्ध भएका तथा जोखिमयुक्त क्षेत्रमा सम्बन्धित पञ्चायतमार्फत पर्याप्त प्रकाशको व्यवस्था गर्न, आवश्यक स्थानमा ह्यालोजन बत्ती जडान गर्न जिल्लापालले निर्देशन दिए। साथै, प्रभावित परिवारलाई निर्बाध खानेपानी आपूर्ति सुनिश्चित गर्न क्षतिग्रस्त पानीका पाइपलाइन यथाशीघ्र मर्मत तथा पुनःस्थापना गर्न सम्बन्धित विभागलाई निर्देशन दिइएको छ।
पैह्रोको जोखिम रहेका क्षेत्रहरूमा बासिन्दा तथा पूर्वाधारका लागि सम्भावित खतरा निम्त्याउन सक्ने रुखहरूको पहिचान गरी हटाउन वन विभागलाई निर्देशन दिइएको छ। जिल्लापालले पैह्रोको जोखिममा रहेका घरहरूको अवस्थासमेत मूल्याङ्कन गरी लागू नियमअनुसार प्रभावित परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिए।
उक्त पैह्रोका कारण सडक अवरुद्ध भई सामान्य सवारी आवागमन प्रभावित भएको छ। पैह्रोबाट उत्पन्न जोखिमलाई ध्यानमा राख्दै सावधानीस्वरूप दुईवटा घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। सावधानीस्वरूप दुईवटा घर खाली गराई परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। प्रभावित क्षेत्रको थप मूल्याङ्कन तथा सडक सम्पर्क पुनःस्थापनाको काम भइरहेको छ।
प्रभावित परिवारका लागि आवश्यक राहत तथा सुरक्षा उपायहरू कार्यान्वयन भइरहेका छन्। सडक सम्पर्कसँगै अन्य अत्यावश्यक सेवाहरूको पुनःस्थापनालाई प्राथमिकताका साथ अघि बढाइएको छ।
हिन्दुस्थान समाचार / बिशाल