
- राज्यपालले केसर, एभाकाडो र म्याकाडामिया नट्सलाई बढावा दिन सुझाउ दिए
गान्तोक, 02 सेप्टेम्बर (हि.स.)। राज्यपाल ओमप्रकाश माथुरसॅंग आज भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर), उत्तर पूर्वी क्षेत्रका निदेशक डा. कादिरवेल गोविन्दसामीले लोकभवनमा शिष्टाचार भेट गरे।
लोकभवनका अनुसार, यस अवसरमा डा. गोविन्दसामीले राज्यपाललाई उत्तर पूर्वी क्षेत्र, विशेष रूपमा सिक्किम राज्यमा आईसीएआरद्वारा सञ्चालित कृषि अनुसन्धान र विभिन्न विकासमूलक गतिविधिहरूको बारेमा जानकारी गराए।
राज्यपालले यी गतिविधिहरूको समीक्षा गर्दै आईसीएआरलाई यस्ता नयॉं र आधुनिक पहलहरू तीव्र गतिमा शुरू गर्न सुझाउ दिए, जसद्वारा सोझोरूपमा स्थानीय किसानहरूको आयस्रोतमा वृद्धि गर्न सकियोस्।
सिक्किमको कृषि जलवायु परिस्थितिहरूको उल्लेख गर्दै राज्यपालले राज्यमा उच्च मूल्यका नगदे बाली उत्पादनको अपार सम्भावना रहेको उल्लेख गरे। उनले कृषि क्षेत्रमा विविधता ल्याउनका लागि वैज्ञानिकहरू र अधिकारीहरूलाई सिक्किममा केसर, एभाकाडो र म्याकाडामिया नट्सको फसललाई विशेष रूपमा बढावा दिन सुझाउ दिए।
डा. गोविन्दसामीले राज्यपालप्रति आभार व्यक्त गर्दै किसानहरूको आय बढाउन यी नयाँ बालीहरूको लागि आईसीएआर सिक्किमले प्रतिबद्धताका साथ काम गर्ने आश्वासन दिए।
हिन्दुस्थान समाचार / बिशाल